सगरमाथा संवादको समापन आज, ‘काठमाण्डौ घोषणा पत्र’ जारी हुँदै


काठमाण्डौ – जलवायु परिवर्तनसम्बन्धी चासो र चुनौतीलाई विश्वसमुदायसामु प्रस्तुत गर्ने उद्देश्यले काठमाण्डौमा आयोजना गरिएको पहिलो सगरमाथा संवाद आज समापन हुँदैछ। शुक्रबारदेखि सुरु भएको संवादको समापन सत्रपछि ‘काठमाण्डौ घोषणा पत्र’ जारी गरिने आयोजकले जनाएका छन्।
‘जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती’ शीर्षकमा आयोजित उच्चस्तरीय छलफलपछि औपचारिक रूपमा संवादको समापन गरिनेछ। सम्मेलनको दौरान १२ वटा विषयगत सत्रहरू सम्पन्न भइसकेका छन्।
समानान्तर सत्रहरूमा हिमनदीहरूको संरक्षणका लागि तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने आवश्यकता, उच्च भूभागदेखि टापुसम्मको सम्बन्ध, खाद्य सुरक्षा र जलवायु उत्थानशील कृषि, तथा हिमाली समुदायको नेतृत्वमा जलवायु न्यूनीकरणका पहलहरू जस्ता विविध विषयमा छलफल भएको छ।
शुक्रबारको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ मुख्य विषयवस्तु रहेको यो संवादमा १७५ जना विदेशी अतिथिसहित ३५० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ।
नेपाल सरकारले हरेक दुई वर्षमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरिसकेको छ।
