Shivam

माओवादीको जनजागरण अभियान रुकुमकोटमा, प्रचण्डद्वारा पीडितको अवस्था अवलोकन

0
Burger

काठमाडौं । नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्वको रुकुमकोट पुगेको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेटघाट गर्दै उनीहरूको अवस्था बारे जानकारी लिएका छन् ।

घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार, जीवन निर्वाह भत्ता वृद्धि, रोजगारीको व्यवस्था र प्रभावकारी पुनःस्थापनाको माग राखेका थिए । साथै, विभाजित माओवादी धाराहरूलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता पनि सहभागीहरूले औंल्याएका थिए ।

प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पीडितहरूको पीडा र मागलाई गम्भीर रूपमा लिएको बताउँदै, राज्यले जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले माओवादी केन्द्र सरकारमा रहँदा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरिएको, संसदबाट पीडित क्षतिपूर्तिसम्बन्धी कानुन निर्माण गरिएको, र सो अनुसार दुई वटा समिति गठन भइसकेको जानकारी गराए ।

प्रचण्डले पीडितलाई परिचयपत्र दिने कानुनी प्रक्रिया अघि बढेको र समितिहरूले त्यसअनुसार कार्य गरिरहेको बताए । साथै, शहीद, बेपत्ता र गरीब परिवारका बालबालिकाका लागि देशका पाँच स्थानमा आवासीय विद्यालय स्थापना गरिएको उनले स्मरण गराए ।

पार्टी एकताको सन्दर्भमा बोल्दै प्रचण्डले यही जेठ १२ गते नेपा राष्ट्रिय पार्टीसँग पार्टी एकता हुने जानकारी दिए । बाबुराम भट्टराई लगायतका अन्य नेताहरूसँग पनि विचार र सिद्धान्तका आधारमा एकता प्रक्रिया अघि बढिरहेको उल्लेख गरे ।

पार्टीले आत्मसमिक्षा गर्दै जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याबारे जानकारी लिने, आवश्यक परे उनीहरूकै घरमा बास बस्ने अभ्यास गरिरहेको प्रचण्डले बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।