अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड


काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान भेटवार्ता गरेका छन् । गभर्नर नियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालय पुगेका डा. पौडेलले अर्थमन्त्रीसँग आर्थिक समन्वयका विषयमा कुराकानी गरेका हुन् ।
भेटको अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै उनको कार्यकाल सफल र परिणाममुखी होस् भन्ने शुभकामना व्यक्त गरे । साथै, उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गर्दै अर्थतन्त्रमा देखिएका चुनौती समाधानमा गभर्नरको सक्रिय र प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरे ।
नवनियुक्त गभर्नर डा. पौडेलले अर्थ मन्त्रालय आर्थिक नीतिको नेतृत्वकर्ता र राष्ट्र बैंक मौद्रिक नीतिको कार्यान्वयनकर्ताको रूपमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । साथै, उनले वित्तीय क्षेत्रको मजबुतीका लागि राष्ट्र बैंकको सुपरीवेक्षण क्षमतामा सुधार ल्याइने बताए ।
भेटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो । उपस्थित सबैले गभर्नरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
