कांग्रेस पदाधिकारी बैठक आज देउवा निवासमा : भिजिट भिसा प्रकरण र क्रियाशील सदस्यता प्रमुख एजेन्डा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक बिहान ९ बजे देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बस्ने तय भएको हो।
मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकको प्रमुख एजेन्डा हालैको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छलफल गर्नु रहेको छ। एक पदाधिकारीले गृहमन्त्री लेखकको भूमिकाप्रति पार्टीको धारणा तय गर्न बैठक केन्द्रित हुने बताए। “मुख्य विषय गृहमन्त्रीज्यू भिजिट भिसा प्रकरणमा मुछिनु भएकोबारे हो, त्यसपछि अरू विषयहरू पनि उठ्नेछन्,” ती पदाधिकारीले उल्लेख गरे।
बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुने छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री गगन थापाले हालको प्रगति र अवस्था बारे पदाधिकारीहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको मुख्यसचिव पौडेलले जानकारी दिए।
गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकमाथि पनि शंका बढेको हो। भट्टराईका डिजिटल डिभाइसहरू जफत गरिएपछि मन्त्रालय स्तरमै अनुसन्धानको दायरामा गृहमन्त्री पुगेका छन्।
यस विषयमा कांग्रेसभित्र नै फरक फरक मत देखिएको छ। कतिपय नेताहरू गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिइरहेका छन् भने केही नेताहरू त्यसको विपक्षमा उभिएका छन्। बैठकले पार्टीको औपचारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।
