रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ घोषित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकालाई “पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका” घोषणा गरिएको छ। सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले उक्त घोषणा गर्नुभएको हो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले निरन्तर खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त सराहनीय रहेको उल्लेख गर्नुभयो। “सबैको समर्पणका कारण रोहिणी गाउँपालिकाले यो ऐतिहासिक सफलता हात पारेको हो,” उहाँले भन्नुभयो।
गाउँपालिका अध्यक्ष यादवले खोप अभियानमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी र स्वयंसेविकालाई धन्यवाद दिँदै, महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष शिवकान्ती हरिजनले पनि स्वास्थ्यकर्मीप्रतिको आभार प्रकट गर्दै, उनीहरूको योगदान अमूल्य रहेको बताउनुभयो।
स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप बालबालिकाको मौलिक अधिकार भएको स्मरण गराउँदै, महिला स्वास्थ्य स्वयंसेविकाले निभाएको भूमिकालाई उच्च मूल्याङ्कन गर्नुभयो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले सबैको सामूहिक प्रयासबाट यो उपलब्धि सम्भव भएको बताउनुभयो। यस्तै, पोखरभिण्डी स्वास्थ्य चौकीका इञ्चार्ज तारा प्रसाद गैरेले खोप योग्य कुनै पनि बालबालिका छुट्नु नहुनेमा जोड दिनुभयो। छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादवले शिक्षा र स्वास्थ्य समान रूपमा सबै बालबालिकाको अधिकार भएको बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखाका नारायण ढुंगाना, इन्द्रेणी ग्रामीण विकास सेवा केन्द्रकी प्रतिनिधि सरस्वती थापा, स्वयंसेविका सरिता पाण्डे, तथा पजरकट्टी स्वास्थ्य चौकीका तथ्यांक फोकल पर्सन रमेश चौवे लगायतले मन्तव्य राख्नुभएको थियो।
गाउँपालिकाले राष्ट्रिय ‘पूर्ण खोप पालिका सुनिश्चितता कार्यविधि निर्देशिका’ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी, २०८२ वैशाख २० गतेसम्म १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरी लक्ष्य पुरा गरेको घोषणा गरिएको हो। यस उपलब्धिका लागि जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र सचिव चिन्तामणि ज्ञवालीले गाउँपालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

