११ महिनापछि शेखर – गगनको भेट


काठमाडौं । आज शुक्रवार नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबिच अर्थपूर्ण भेटवार्ता भयो । शेखरलाई भेट्न गगन नै उनको सम्पर्क कार्यालयमा पुगेका थिए ।
कांग्रेसको १५ औँ महाधिवेशन र सरकार परिवर्तनको चर्चाका बिच शेखर–गगनबिच भेट भएको हो । लामो समय देखि सँगै भेट नभएका शेखर–गगनको यो भेटवार्ता निकै अर्थपूर्ण मानिएको छ ।
काँग्रेसमा संस्थापन इतरपक्षमा रहेका शेखर–गगनबिच राम्रोसँग भेटघाट र कुराकानी नभएको ११ महिना भइसकेको थियो । १४ औं महाधिवेशनमा एकै समूहबाट चुनाव लडेका उनीहरूबिच पछिल्लो समय दुरी बढेको थियो । तर, ११ महिनापछि भने गगन थापा शेखरलाई भेट्न उनकै सम्पर्क कार्यालय पुगे । केही समय कांग्रेस संस्थापन पक्षसँग रहेर सक्रिय भएका गगन त्यहाँ पनि धेरै टिक्न सकेनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बन्ने योजनामा रहेका गगनलाई देउवाले खासै महत्त्व दिएका थिएनन् । १५ औँ महाधिवेशनमा देउवा पक्षबाटै कांग्रेस सभापतिका लागि उम्मेदवारी दिने तयारीमा थिए गगन । तर, संस्थापन पक्षमा रहेका अन्य नेताहरूले देउवालाई दबाब दिएपछि सभापति देउवाले गगनलाई खासै महत्त्व नदिएको दाबी गरिन्छ ।
कांग्रेस महामन्त्री जस्तो बलियो पदमा रहेर पनि देउवासँग गगनको भूमिका कमजोर देखिन थाल्यो । पार्टीका काम र सरकार सञ्चालनको रणनीतिमा पनि देउवाले गगनलाई सामेल गराउन छाडेपछि अन्ततः गगन आफ्नै पुरानै गुटमा फर्किन लागेको बुझ्न सकिन्छ ।
महामन्त्री थापाले ११ महिनापछि शेखरलाई भेटेर पुरानै समूहमा फर्किन चाहेको सन्देश दिएका छन् । शेखर–गगनको भेटमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, सांसद सञ्जय गौतम लगायतको सहभागिता थियो ।
लामो सुमयपछि भेटिएका शेखर–गगनको सौहार्दपूर्ण कुराकानी भएको शेखरका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनले भेटमा सरकार र पार्टीको आन्तरिक गतिविधिबारे छलफल भएको बताए ।
‘११ महिनापछि शेखरदाई भेट्न गगनजी आउनुभएको थियो । उहाँबिच सौहार्दपूर्ण कुराकानी भयो,’ उनले भने, ‘छलफल सकारात्मक भयो । भेटमा अन्य नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।’
नेता कोइरालाका स्वकीय सचिव थपलियाले शेखर–गगनबिच कुनै मनमुटाब नरहेको दाबी गरे । उनले मिडियामा आएको समाचारमा सत्यता नरहेको बताउँदै शेखर–गगनबिच सधैँ कुनै समस्या नरहेको बताए ।
