जनमत पार्टीको भैरहवामा सम्मान तथा प्रशिक्षण कार्यक्रम, संगठन विस्तारमा ध्यान दिन राष्ट्रिय सचिव यादवको निर्देशन


भैहरवा । जनमत पार्टी रुपन्देहीद्वारा आयोजित परिचय, सम्मान तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ। जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्नुभयो।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सचिव यादवले जनमत पार्टीको संगठन सुधार तथा विस्तारलाई महत्वका साथ अगाडी बढाउन निर्देशन दिनुभयो । उहाँले जनमत पार्टीको लोकप्रियता बढ्दै गएको बताउँदै पार्टीका गतिविधीलाई नागरिकमैत्री बनाई संगठन विस्तारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै, कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य तथा जिल्ला इन्चार्ज रामकेश गुप्ता , केन्द्रीय कार्यकारी सदस्य निर्मला हरिजन, भ्रष्टाचार अनुसन्धान निवारण विभाग प्रमुख संजय मिश्र, केन्द्रीय सदस्यहरू शम्भु यादव, कृष्ण कोहार, रामदेव यादव, बिनोद पासवान, रामअवध गुप्ता, रामु यादव, किरण गुप्ता, अर्जुन जयसवाल लगायतले बोल्दै पार्टीको संगठनात्मक सुदृढीकरण, भ्रष्टाचार निवारण, तथा स्थानीय तहमा पार्टीको भूमिका लगायतका विषयमा चासो व्यक्त गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरू, जिल्ला, गाउँपालिका, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरू, साथै जिल्लाभित्रका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको जनमत पार्टी रुपन्देहीका सूचना समिति अधिकारी (प्रवक्ता) रुपचन यादवले जानकारी दिनु भयो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कृष्ण कोहारले गर्नुभएको थियो।
