कमल थापासहित ७ जना रिहा, मापसे अभियोगमा राजीव झा हिरासतमै


काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार आयोजित प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले रिहा गरेको छ भने एक जनालाई हिरासतमै राखिएको छ।
निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयासपछि दिउँसो पक्राउ परेकामध्ये सात जनालाई साँझ रिहा गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए।
बोहराका अनुसार सुरुमा ६ र पछि थप २ जनालाई गरी जम्मा ८ जनालाई पक्राउ गरिएको थियो। रौतहटका डा. राजीव झालाई मादक पदार्थ सेवन (मापसे) गरी प्रहरीलाई गालीगलौज गरेको आरोपमा हिरासतमै राखिएको छ। आफूलाई हिन्दुवादी धार्मिक अभियन्ता बताउने झा प्रदर्शनमा सहभागी थिए।
रिहा हुनेमा राप्रपा नेपाल अध्यक्ष कमल थापा, सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुरका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्।
राजतन्त्र पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत दलहरूले केही दिनदेखि काठमाडौँ उपत्यकामा प्रदर्शन गरिरहेका छन्।
