Shivam

विनयी खोलाको भेलले बस बगायो : ३८ यात्रुको उद्धार, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

0
Burger

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले बिहीबार मध्यरातमा यात्रुवाहक बस बगाएको छ । पूर्वबाट बर्दियातर्फ जाँदै गरेको बसमा सवार तीन बालबालिकासहित सबै ३८ जना यात्रुको भने सकुशल उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पूर्वबाट बर्दियाका लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस राति करिब ११ बजे दुम्किबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सन पार गर्ने प्रयासमा थियो । अविरल वर्षाका कारण उर्लिएको खोलाको भेलले बसलाई नियन्त्रणबाहिर लग्यो र बगाउन थाल्यो ।

घटनालगत्तै यात्रुहरूले गुहार मागेपछि तत्कालै प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । ‘कठिन परिस्थितिका बाबजुद सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ,” जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले भने, ‘सबैको ज्यान जोगिएको छ, यो सबैभन्दा ठूलो कुरा हो ।’

बाढीले बगाएर लगेको बस घटनास्थलबाट करिब एक किलोमिटर तल क्षतविक्षत अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बस फेला परेको पुष्टि गरे । बसमा रहेका यात्रुहरूको लगेज र अन्य सामग्री भने बाढीले बगाएको अनुमान छ ।

दुर्घटनाको मुख्य कारण राजमार्गमा रहेको जीर्ण पुल र त्यसको अस्थायी समाधानका रूपमा बनाइएको कमजोर डाइभर्सन हो । गत पुस महिनामा एक भारतीय ओभरलोड ट्रकले पुल भत्काएपछि त्यस स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । तर, सामान्य वर्षामा समेत यो डाइभर्सन पटक-पटक बग्ने गर्दा यात्रुहरूले सास्ती खेप्दै आएका छन् र राजमार्ग नै जोखिमपूर्ण बन्दै आएको छ ।

राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र
डाइभर्सन पुनः बगेकाले पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । दुम्किबासबाट दाउन्नेतर्फ जाने उकालो सडक हिलाम्य हुँदा दर्जनौं सवारीसाधनहरू बीच बाटोमै फसेका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।