शैक्षिक पूर्वाधार विकासमा बुटवलको लगानी : “शैक्षिक हब”बनेको बुटवल


बुटवल। लुम्बिनी प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित बुटवल अहिले शैक्षिक पूर्वाधार विकासमा समेत एक महत्वपूर्ण ‘हब’ बनेको छ । शिक्षा क्षेत्रको लामो इतिहास बोकेको बुटवलले पछिल्लो केही दशक यता अभूतपूर्व शैक्षिक विकास देखाएको छ। निजी तथा सरकारी क्षेत्रका विद्यालय, क्याम्पस, प्राविधिक तथा व्यावसायिक शिक्षालय, कोचिङ संस्थान र शिक्षासम्बन्धी विविध सेवा प्रदायक संस्थाहरूको सघन उपस्थितिले बुटवललाई ‘शिक्षा सिटी’ तर्फ अग्रसर गराएको छ।
भौगोलिक पहुँच, यातायात सुविधा, निजी तथा सामुदायिक विद्यालयहरूको संख्या, प्रविधिको प्रयोग र गुणस्तरीय शैक्षिक पूर्वाधारका कारण बुटवलले लुम्बिनी प्रदेश मात्र होइन, सुदूरपश्चिम र कर्णाली प्रदेशसम्मका विद्यार्थीलाई आकर्षित गरिरहेको छ।
बुटवलमा रहेका सामुदायिक र निजी विद्यालयहरूले भौतिक पूर्वाधारको विकासमा उल्लेखनीय सुधार गरेका छन्। पुराना, जीर्ण भवनहरू मर्मत तथा पुनर्निर्माण भएका छन् भने धेरै स्थानमा नयाँ आधुनिक भवनहरू निर्माण गरिएका छन्। स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, खेल मैदान, सिसिटिभी जडान लगायतका सुविधाले अहिलेका विद्यालयहरूलाई सुविधा सम्पन्न बनाएका छन्।
बुटवल उपहानगरपालिका अनुसार आर्थिक वर्ष २०८१÷८२मा बुटवल ११मा रहेको सहिद स्मृति आधारभूत विद्यालयको झण्डै ३२ लाखमा भवन निर्माण , नविन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको झण्डै ३२ लाखमा भौतिक पुर्वाधार निर्माण , वडा नं.३मा रहेको जनज्योति आधारभूत विद्यालयको भौतिक पुर्वाधार झण्डै २६ लाख , बुटवल १२मा रहेको नयाँगाउँ मा.वि.मा७५ लाखमा अधुरो भवन निर्माण ,वडा न.१९मा अमर मा.वि.को भवन निर्माणका लागि २२ लाख बढि रकम लगानी उपहानगरपालिकाले गरेको छ। यस्तै ,शहरी पूर्वाधार माहाशाखा प्रमुख ई.गौतम रौनियारले बुटवलले शैक्षिक पूर्वाधार विकासमा ठुलो लगानी गरेको बताए । उनका अनुसार यस आर्थिक वर्षमै बुटवल १५मा रहेो दुर्गाभवानी आधारभूत विद्यालयको भवन निर्माण , बुटवल ११मा रहेको नविन औद्योगिक मा.वि. भवन निर्माण कार्य र सुर्योदय आ.वि.को भवन निर्माणका लागि एकमुस्ट १ करोड ६५ लाख विनियोजन गरेर ठेक्का प्रकिृयामा अघी बढेको छ ।
यस्तै , बुटवल ७मा रहेको सन्तोषी माता गुरुकुल विद्या आश्रम भवन निर्माणका लागि झण्डै ४० लाख , भवानी मा.वि.बुटवल १८ , जनशक्ति नमुना भिमप्रसाद गोमता आधारभूत विद्यालय बुटवल १६ , जितेश्वरी माध्यमिक विद्यालय बुटवल १३ , मैनावगर आधारभूत विद्यालय बुटवल ११ , मायादेवी जनजागृति आधारभुत विद्यालय बुटवल ११ , तामनगर सामुदायिक सिकाई केन्द्र बुटवल १२ , सिद्धेश्वरी लालकुमारी मा.वि. बुटवल ७ , सुर्योदय आधारभूत विद्यालय बुटवल ११ , अमर मा.वि.बुटवल १९ , मोतिपुर मा.वि.बुटवल १७ र सरस्वती आधारभुत विद्यालय बुटवल १का विद्यालयका भौतिक पूर्वाधारका लागि १ करोड ४ लाख बजेट उपमहानगरबाट विनियोजन गरेर सुचना आहवान भैसकेको छ।
शैक्षिक परम्पराको जग बलियो बनाउँन बुटवलमा स्थापित विद्यालय तथा कलेजहरूले दीर्घकालीन प्रभाव पार्दै आएका छन्। बुटवल मलिका मावि, अमरज्योति मावि, जनज्योति मावि जस्ता विद्यालयहरूले सयौं विद्यार्थीको भविष्य निर्माणमा भूमिका खेलेका छन्।आजको बुटवलमा निजी क्षेत्रको लगानीले शिक्षामा नविनतम संरचना थपिएको छ। बुटवलमा अहिले ५० भन्दा बढी निजी विद्यालयहरू सञ्चालनमा छन्, जसले नर्सरीदेखि कक्षा १२ सम्म आधुनिक शैलीमा पठनपाठन गराउँछन्। स्मार्ट बोर्ड, डिजिटल लाइब्रेरी, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, ई–लर्निङ सुविधा तथा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने प्रवृत्तिले बुटवलका निजी विद्यालयलाई विशेष बनाएको छ।
त्यस्तै, बुटवलमा अहिले दर्जनौं क्याम्पसहरू सञ्चालनमा छन् जसमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग आबद्ध संस्थाहरू पनि छन्।शिक्षाको उद्देश्य केवल किताबी ज्ञानमा सीमित नहोस् भन्ने सोचसँगै प्राविधिक शिक्षाको महत्व बुटवलमा तीव्र रूपमा बढेको छ। बुटवलस्थित सीटीईभीटीअन्तर्गतका विभिन्न शाखाहरू, प्राविधिक शिक्षालय र निजी स्तरका इन्स्टिच्युटहरूले डिप्लोमा इञ्जिनियरिङ, स्वास्थ्य, होटल व्यवस्थापन, कृषि, कम्प्युटर, इलेक्ट्रिसियन, प्लम्बिङजस्ता व्यावसायिक पाठ्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
बुटवलको तुलनात्मक रूपमा शान्त र अनुशासित शहरी परिवेशले देशभरबाट विद्यार्थीलाई आकर्षण गरेको छ। पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, बागलुङ, कपिलवस्तु, नवलपरासी, दाङ लगायत जिल्लाबाट विद्यार्थीहरू उच्च शिक्षाको लागि बुटवल आउने गर्दछन्। यो नै बुटवललाई शैक्षिक ‘हब’ बनाउने प्रमुख कारण हो। बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबैको साझा शहरको रुपमा बनाउने बारम्बार बताउदै आएका छन् । बुटवलले नवलपरासी बर्दघाट(सु.प.)दाउन्नेबाट पश्चिम र कपिलवस्तुको चन्दौटा सम्मको बृहत बुटवलको कल्पना गरेर बुटवलले आफ्नो लगानी र कार्यक्रमहरु ल्याउने गरेको नगर प्रमुख पाण्डेयले बताए । उनले बुटवलले दिने छात्रावृत्ति , विभिन्न सिप विकास तथा लक्षित वर्गका तालिमहरुमा बुटवलका स्थायी बासिन्दा भन्दा पनि बाहिरका लागि अवसर दिने गरेको बताए ।
बुटवलमा विद्यार्थीको बसोबासका लागि होस्टेल सुविधा पनि प्रशस्तै छन्। सुलभ भाडामा पाइने कोठा तथा खानपिनको व्यवस्था र सस्तो यातायात प्रणालीले विद्यार्थीलाई सहजता दिएको छ।बुटवल अहिले विभिन्न प्रतियोगी परीक्षाका लागि कोचिङ सेन्टरहरूको केन्द्र बनेको छ। मेडिकल, इन्जिनियरिङ, लोकसेवा, बैंकिङ, आर्मी÷पुलिस तयारी जस्ता विविध क्षेत्रका लागि दर्जनौं कोचिङ इन्स्टिच्युटहरू सक्रिय छन्। पढ्नकै लागि काठमाडौं जाने आवश्यकता नपरोस् भन्ने सोचका साथ बुटवलमै गुणस्तरीय तयारी कक्षाहरू सञ्चालनमा आएका छन्, जसले अभिभावकहरूमा समेत सन्तुष्टि ल्याएको देखिन्छ।
सूचना प्रविधिको प्रयोगमार्फत बुटवलका विद्यालय र कलेजहरूले डिजिटल क्लास, अनलाइन लर्निङ, इ–लाइब्रेरी, मोबाइल एप्स, भर्चुअल टिचिङजस्ता नविन प्रयोगहरू थालेका छन्।कोरोनापछिको समयमा बुटवलका शैक्षिक संस्थाहरूले सिकाइको डिजिटलरणमा फड्को मारेका छन्। ई–कक्षा र वेब–प्लेटफर्ममार्फत सिकाइलाई निरन्तरता दिइएको छ। बुटवलमा अहिले यस्ता प्रविधिमैत्री शिक्षण अभ्यास गर्ने संस्था बढिरहेका छन्।शैक्षिक पूर्वाधारका हिसाबले बुटवलले धेरै फड्को मारे पनि केही चुनौतीहरू अझै बाँकी रहेको स्थानीय जानकार युवराज कंडेल बताउँछन् । उनले सरकारी विद्यालयको भौतिक संरचना सुधार, शिक्षण गुणस्तरको एकरूपता, ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी शिक्षा पहुँच गराउने विषयमा थप काम गर्नुपर्ने सुझाव दिन्छन् ।
बुटवल उपमहानगरपालिकाले शैक्षिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि सारेको छ। नगरभित्रका विद्यालयमा शुद्ध पिउने पानी, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय निर्माणजस्ता कार्य भइरहेको छ। त्यसैगरी, नगरले विद्यार्थीको शैक्षिक यात्रा सुगम बनाउन छात्रवृत्ति कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक, शिक्षासम्बन्धी प्रतियोगिता तथा प्रविधि केन्द्र स्थापना गरिरहेको छ।नगर प्रमुखका पाण्डेयका अनुसार, आगामी दिनमा डिजिटल शिक्षा, शिक्षक तालिम, भाषा तथा विज्ञान प्रयोगशालाको विस्तार, ग्रामीण विद्यालयको सुदृढीकरण र प्राविधिक शिक्षामा लगानी बढाइने योजना रहेको छ।
