‘पर्यटन गेटवे’ बन्दै बुटवल : पूर्वाधार विस्तारसँगै फस्टाउँदै आकर्षण


बुटवल ।लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवल अब पर्यटन क्षेत्रको गहिरो सम्भावना बोकेको गन्तव्यका रूपमा स्थापित हुँदैछ। ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाले भरिएको यो शहर ‘पर्यटन गेटवे’ को रूपमा परिचित हुन थालेको छ।लुम्बिनीको छायाँमा ओझेलमा परेको बुटवल अहिले आफ्नै पहिचान, आफ्नै सम्पदा र आफ्नै योजना लिएर अघि बढ्दैछ । बुटवलले धार्मिक आस्थाका केन्द्रदेखि ऐतिहासिक युद्धस्थल, आधुनिक होटल, केबलकार, पदमार्ग र संग्रहालयसम्मका पर्यटन पूर्वाधारले बुटवलको पर्यटन सम्भावनालाई बढाएको छ । बुटवल उपमहानगरपालिकाले पर्यटनलाई समृद्धिको मेरुदण्डका रूपमा लिंदै संरचना निर्माण, सम्पदा संरक्षण र प्रवद्र्धनमा आक्रामक शैली अपनाएको छ।
इतिहास, संस्कृति र स्वाभिमानको सहर
बुटवलमा नेपाल–अंग्रेज युद्धको गर्व गर्ने जितगढी छ। यहाँ नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेका थिए। यही जितगढी आज राष्ट्रिय स्वाभिमानको प्रतीकको रूपमा पुनर्जीवित हुँदैछ। बुटवल उपमहानगरपालिकाले जितगढी युद्ध संग्रहालयमा नेपाली सेनाका पुराना हतियार, दस्तावेज, वर्दी, झन्डा र इतिहास झल्काउने डकुमेन्टेसन सामग्रीहरू समेटिएका छन्। यद्यपि हाल संग्रहालय बन्द छ, तर नगरपालिकाले यसलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्ने तयारी गरिरहेको छ।
धार्मिक गन्तव्य
बुटवल केवल ऐतिहासिक स्थलमै सीमित छैन, यो धार्मिक पर्यटनको केन्द्र पनि बन्दैछ। यहाँका प्रमुख मन्दिरहरू—सात मननारायण मन्दिर, नारायणथान, सिद्धबाबा मन्दिर, मुक्तिनाथ धाम, नरेश्वरधामले भक्तजनलाई तानिरहेका छन्।मुक्तिनाथ धाम (नयागाउँ) मा भारतबाट समेत श्रद्धालु आउन थालेका छन्। १०८ धाराबाट स्नान गर्ने परम्परासँगै, यो क्षेत्र सुदूर दक्षिणबाट आएका तीर्थयात्रीका लागि नयाँ गन्तव्य बन्ने संकेत देखिँदैछ।सिद्धबाबा मन्दिर र नरेश्वरधामको गुरुयोजना बनिसकेको छ, नगर र प्रदेश सरकारको सहकार्यमा संरचना विस्तार भइरहेको छ।
प्राकृतिक सौन्दर्य र पदयात्रा अनुभव
बुटवल नुवाकोटगढी पदमार्ग अहिले शहरवासीदेखि युवायात्रीसम्मको प्रिय गन्तव्य बनेको छ। झण्डै २ घण्टाको यो ट्रेकमार्गले हरियाली जंगल, ऐतिहासिक गढी र बटौली बजारलाई जोड्छ।बुटवलको हिलपार्क क्षेत्र पुनःविकास हुँदैछ—पारिवारिक पार्क, खुला मञ्च, गुम्बा क्षेत्र, बुद्धमूर्ति र बोटानिकल गार्डेनसहित यस क्षेत्र अब ‘थकाइ मार्ने’ ठाउँ मात्रै नभई नयाँ पर्यटकीय केन्द्र बन्ने दिशामा छ।
सम्पदाको संरक्षण अभियान
बुटवलको पुरानो पहिचान बोकेको बटौली क्षेत्र—जहाँ नुन र घिउ साट्ने प्राचीन व्यापारिक संस्कृति थियो ।अब पुनःनिर्माण हुँदैछ। बुटवल–१ र २ मा पर्ने बटौली बजारलाई पुरानो मौलिक स्वरूपमा फर्काउने योजना अघि बढिसकेको छ।स्थानीय घर, चौतारी, विश्रामस्थल, गल्लीहरूलाई परम्परागत ढाँचामा पुनःसंरचना गरेर पर्यटकलाई ‘पुरानो बुटवल’ को अनुभूति दिने लक्ष्य उपमहानगरको छ ।
रामापिथेकस पार्कदेखि उजिरसिंह फल्चासम्म
बुटवल आदि मानव रामापिथेकसको विचरणस्थलका रूपमा पनि चिनिन्छ। उपमहानगरले रामापिथेकस पार्कलाई नयाँ डिजाइनमा अघि बढाउँदैछ।त्यस्तै, बुटवलको सांस्कृतिक पहिचान झल्काउने नेवार समुदायको उजिरसिंह फल्चा समेत निर्माण भएको छ। यहाँ विश्राम, छलफल र साँस्कृतिक कार्यक्रमको संयोजन हुने अपेक्षा छ।
कपरकट्टी ताल : मिनी फेवा ताल
बुटवल–१६ बैठौलियामा रहेको कपरकट्टी ताल बुटवलको पर्यटन क्षेत्रका लागि नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ । डुंगा, लाइटिङ, सेल्फी जोन, पर्खाल, चमेनागृह, साइकल पथ, सुरक्षा कक्ष र टिकट प्रणाली सहित यो ताल अब आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्ने संकेत देखिएको छ। नगरले यसलाई बुटवलको ‘मिनी फेवा ताल’ का रूपमा विकास गर्ने योजना बनाएको छ ।
लुम्बिनीको प्रवेशद्वार, पर्यटकको पहिलो गन्तव्य
विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्न चाहने धेरैजसो आन्तरिक तथा बाह्य पर्यटक बुटवल हुँदै यात्रा गर्छन्। भौगोलिक हिसाबले बुटवल लुम्बिनीको प्रवेशद्वार मात्र होइन, हिमाल–पहाड–तराईलाई जोड्ने त्रिकोणीय क्षेत्र पनि हो।यहाँबाट पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपा देउराली, गुल्मीको रेसुङ्गा, लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट जस्ता गन्तव्यहरू १–२ घण्टाको यात्रा भित्रमै पर्छन्। यी सबैलाई जोड्ने ’सांस्कृतिक सर्किट’ योजनासहित बुटवलमा पर्यटन पूर्वाधार विकासको आधार तयार पारिँदैछ।
बुटवललाई पर्यटकीय विश्रामस्थाल बनाउने तयारी
बुटवललाई पर्यटकीय विश्रामस्थाल बनाउने तयारीलाई तिव्रताका साथ योजनाबद्ध रुपमा बुटवल उपमहानगरपालिकाको नेतृत्व लागि परेको छ । चिनसंग जोडिएको कोरोला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाका सम्म पर्यटक भित्राउन बुटवल उपमहानगरले पहल सुरु गरेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चिनबाट आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरले वातावरण निर्माणमा लागेको छ । केही समय अघि मात्रै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा , गुल्मी , स्याङ्जा , बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहहरु संग भेटेर आपसी सहकार्य र पर्यटक भित्राउनका लागि साझा पहल थाल्ने गरी छलफल प्रारम्भ गरिएको छ । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल देशका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज शहर भएको र देशका सबै स्थानमा जाने यातायातहरु बुटवलबाट जोडिने हुँदा पर्यटकहरुका लागि बुटवल भरपर्देा विश्रामस्थल हुने बताए । उनले भैरहवा विमानस्थलबाट समेत हवाई सेवा सहज उपलब्ध भएको हुँदा र सबैले बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दु पर्यटकलाई मुक्तिनाथ र कोरला नाका सम्म लैजाने तथा चिनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीरण गर्ने उद्देश्यले बुटवलले यसको पहल सुरु गरेको बताए ।
भौगोलिक विशेषता र सम्भावना
बुटवल रूपन्देही जिल्लाको उत्तरपश्चिम भागमा अवस्थित छ। महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल भएकाले यो ठाउँ देशकै प्रमुख यातायात केन्द्रमध्ये एक हो। यहाँबाट लुम्बिनी २७ किलोमिटर, पाल्पाको तानसेन ३८ किलोमिटर र पोखरा झण्डै १५० किलोमिटरमा पर्छ। यस भौगोलिक सुविधा बुटवललाई ‘पर्यटक यात्राको आधार केन्द्र’ बनाउने उपयुक्त सम्भावना दिएको छ ।
