स्वास्थ्य हब बन्ने दिशामा बुटवल,स्वास्थ्य पूर्वाधार तथा कार्यक्रममा लगानी बढाउँदै उपमहानगर


बुटवल । लुम्बिनी प्रदेशको मुटुमा रहेको बुटवल उपमहानगरपालिका आजभोलि स्वास्थ्य क्षेत्रको विकासमा एक निर्णायक मोडमा उभिएको छ। व्यापार र यातायातको केन्द्रका रूपमा परिचित बुटवलले पछिल्लो केही वर्ष यता स्वास्थ्य पूर्वाधारमा तीव्र लगानी गर्दै स्वास्थ्य ‘हब’ बन्ने सम्भावनालाई मूर्तरूप दिइरहेको छ।
सरकारी, निजी र सहकारी क्षेत्रको त्रिकोणात्मक समन्वय, चिकित्सा शिक्षा, गुणस्तरीय अस्पतालको विस्तार, अत्याधुनिक उपकरणको प्रयोग र दक्ष जनशक्तिको उपलब्धताले बुटवललाई पश्चिम नेपालको स्वास्थ्य केन्द्र बनाउने स्पष्ट पारेको छ।
बुटवल उपमहानगरले बुटवलको मुख्य बजार संगै ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पुहँच विस्तारका काम गरिरहेको छ। संद्यिय , प्रादेशिक सरकारको लगानी र बुटवलको आफ्नै दुरदृष्टीले बुटवललाई स्वास्थ्य सेवाको भरपर्दो केन्द्रको रुपमा स्थापित गरेको छ । बुटवलमा सरकारी सेवा विस्तारसंगै निजी अस्पतालहरूको संख्या, क्षमतासमेत उल्लेख्य रूपमा बढेको छ। स्वास्थ्यको पहुँच, गुणस्तर र दिगोपनका हिसाबले बुटवल अहिले प्रदेशकै नमुना स्वास्थ्य सहर बन्दैछ।
बुटवल उद्योग बाणिज्य संघ , रुपन्देहीका अध्यक्ष हरी अर्यालले बुटवलको सामर्थ र लगानीलाई हेर्दा बुटवल पश्चिम नेपालकै स्वास्थ्य सेवाको केन्द्र बन्ने बताउँछन् । बुटवलको स्वास्थ्य क्षेत्रमा भैरहेको निजि लगानी र १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल , निर्माणाधिन अवस्थामा रहेको बुटवल मेडिकल कलेज , स्तरउन्नती हुँन थालेको आम्दा अस्पताल र निजी क्षेत्रबाट सञ्चालित ठुलो अस्पतालहरुको स्तरवृद्धिले बुटवल नारायाणी पश्चिमको स्वास्थ्यको हवको रुपमा विकास भैरहेको अर्यालले बताए ।
बुटवलमा साविक लुम्बिनी अञ्चलका ६ जिल्ला सहित स्याङ्जा , बाग्लुङ् , प्युठान, रोल्पा , रुकुम , दाङ सम्मका नागरिकालागि भरपर्दो र नजिकको स्वास्थ्य सेवा लिने स्थानको रुपमा रहेको छ। लुम्बिनी प्रदेशका अधिकांश जिल्लाबाट रिफर भएर बुटवल आउने विरामीहरुको चाप बढ्दै गएको छ । पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पताल पश्चिम नेपालको एक प्रमुख रिफरल अस्पताल हो। बहुविज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला, रक्त सञ्चार केन्द्र, सीटी स्क्यान, डायलाइसिस, आईसीयू सेवा जस्ता विशेष सुविधा विस्तारसँगै यस अस्पतालले बुटवल र आसपासका जिल्लाका लाखौं नागरिकलाई सेवा दिइरहेको छ। यस अस्पताललाई प्रदेश सरकारको ५ अर्बभन्दा बढी लगानीमा लुम्बिनी प्रादेशिक अस्पताललाई लुम्बिनी इंस्टीच्युट अफ मेडिकल साइन्सेजमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ। १२सय शैयाको अत्याधुनिक अस्पतालको रुपमा निर्माण भैरहेको यस अस्पतालमा विरामीको चाप बढ्दै गइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय क्रिटिकल केयर , ट्रमा केयर, मुटु रोग, मिर्गौला सेवा, नशा रोग विशेषज्ञ, ल्यापरोस्कोपिक शल्यक्रिया लगायतका अत्याधुनिक सेवामा बुटवलका निजी अस्पतालले लगानी बढाएका छन्।स्वास्थ्य हब बन्ने बाटोमा स्वास्थ्य शिक्षा र दक्ष जनशक्तिको उत्पादन अनिवार्य हुन्छ। यस दृष्टिले बुटवलमा सञ्चालित स्वास्थ्य कलेजहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। बुटवल नर्सिङ क्याम्पस, लुम्बिनी हेल्थ इन्स्टिच्युट, क्रिमसन मेडिकल साइन्सेज, गौतम बुद्ध नर्सिङ कलेज लगायतका संस्थामा एएनएम, सीएमए, स्टाफ नर्स, बीएन, बीपीएच, एमपीएच जस्ता विषयमा पढाइ हुँदै आएको छ।
विस्तारित पाठ्यक्रम, अनुभवी प्राध्यापक, प्रयोगशालासहितको सेवा तथा इव्त् (इल व्यद त्चबष्लष्लन) को सुविधा दिएर बुटवलका कलेजहरूले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेका छन्। यही जनशक्तिले बुटवलमा नर्सिङ होमदेखि बहुविज्ञ अस्पतालसम्ममा दक्षता बढाएको देखिन्छ।
बुटवलमा सहकारी तथा सामुदायिक स्तरमा सञ्चालित अस्पताल तथा औषधालयहरूले पनि महत्त्वपूर्ण योगदान दिएका छन्। गौतमबुद्ध मुटुरोग विशेषज्ञ अस्पताल , बुटवल लयान्स आखा अस्पताल , महिला तथा बालवालिका रोग विशेषज्ञ आम्दा अस्पतालहरुले आदि संस्थाहरूले न्यून आय भएका नागरिकलाई सेवा दिइरहेका छन्।सामाजिक उत्तरदायित्वअनुसार विभिन्न स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, सचेतना अभियानसमेत यी संस्थाहरूले सञ्चालन गर्दै आएका छन्।
बुटवलमा ५०० भन्दा बढी फार्मेसी र ल्याब सेवा केन्द्रहरू छन्। यिनले औषधिको सजिलो आपूर्ति, परीक्षण सेवामा छरितोपन र दक्षता ल्याएका छन्। आधुनिक प्रविधिसहितका ल्याबहरू (जस्तै डिजिटल एक्स–रे, एऋच्, हेमेटोलोजी, बायोकिमेस्ट्री, माइक्रोबायोलोजी) को सेवाले बुटवलको स्वास्थ्य पूर्वाधारलाई स्तरीय बनाएको छ।त्यसैगरी, स्वास्थ्य बीमा सेवा विस्तार, ई–हेल्थ प्रणाली, अनलाइन अपोइन्टमेन्ट, हेल्थ एप्स, टेलिमेडिसिन जस्ता प्रविधिसँगको मेलले बुटवलमा डिजिटल स्वास्थ्य क्रान्तिको झल्को देखिन्छ।
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताको एजेण्डा बनाउँदै आएको छ। नगरभित्र स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, मातृशिशु सेवा केन्द्र, पोषण केन्द्र र विद्यालय स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिएको छ।नगरले स्वास्थ्यकर्मी तालिम, नियमित निगरानी, मोबाइल हेल्थ क्लिनिक, स्वास्थ्य बीमा प्रोत्साहन, महिला स्वास्थ्य स्वयमसेविका प्रणाली, सडक स्वास्थ्य सचेतना अभियान र महामारी नियन्त्रणमा पनि उल्लेखनीय काम गरेको छ।त्यस्तै, निजी क्षेत्र र नगरबीच सहकार्य गरेर सार्वजनिक–निजी साझेदारी अन्तर्गत स्वास्थ्य परियोजनाहरू अघि बढाउने योजना रहेको बताइएको छ। बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन उपमहानगरले सकृयतका साथ काम गरेको बताए । उनले पछिल्लो समय बुटवलका सबै वडामा स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्ने योजनाअनुसार वडा नम्बर ९ बाहेकका १८वटै वडामा स्वास्थ्य केन्द्रहरु सञ्चालनमा आएको बताए । वडा नम्बर ९मा नगरको आफ्नै भवन नभएकाले थप व्यवस्थापन गरी छिटै नै स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना गरेको पाण्डेयले बताए ।
बुटवल उपमहानगरपालिका अनुसार १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र । ५ वटा वडा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र , मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसुति सेवा सञ्चालनमा रहेको छ । बुटवल उपहानगरपालिकाका जनस्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण शाखाका प्रमुख युवराज पाण्डेले वडा नम्बर १३मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी रहेको बताए । उनले २ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वस्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको बताए ।
बुटवल उपमहानगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमा संग नगर प्रमुख कार्यक्रम अन्तरगत घरदैलोमा स्वास्थ्य सेवा पुराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसको लागि कानूननै बनाएर वर्षमा ३ पटक घरदैलोमा स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था मिलाइएको छ । गर्भवती महिलाहरुको स्वास्थ्य जाँच , पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु सञ्चालन गर्ने कार्यक्रम पनि नियमित रहेको बुटवल उपमहानगरले जनाएको छ। महिला र बालबालिकाको उपचारकालागि आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका एक सय बेडबाट तिन सय बेडमा लैजानका लािग डिपीआर तयार भैरहेको बुटवलले जनाएको छ। आम्दामै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनका लागि एचए, नर्सिंङ् , फार्मेसीको अध्ययन शुरु गरिएको बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । जटिलरोग विपन्न अनुदान अन्तरगत जनही रु १७ हजार , १८ वर्षमुनिका ३ जना एचआइभी संक्रमित बालबालिकालाई मासिक रुपमा जनही ३ हजार रुपैयाँ उपलब्ध गराईने कार्यक्रमलाई निरन्तरता दिएको पाण्डेय बताए ।
नगर प्रमुख स्वस्थ शिशु कार्यक्रम अन्तरगत सुत्केरी महिलालाई जनही २ हजार रुपैया पोषणभत्ता वापत्को रकम वितरण गर्ने र नगरबासीलाई सरकारी र निजी अस्पतालमा उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमलाई बुटवलले कार्यान्वयनमा लगेको छ ।शिक्षा, व्यापार, यातायात र पर्यटनसँगै अब बुटवल स्वास्थ्यको सशक्त केन्द्र बन्ने चरणमा प्रवेश गरिसकेको छ। पूर्वाधार, जनशक्ति, प्रविधि र व्यवस्थापनको सन्तुलित विकासले बुटवललाई ‘स्वास्थ्य राजधानी’ बनाउने सपना अब परको कुरा छैन। सही योजना, जिम्मेवार कार्यान्वयन र दीर्घदृष्टिकोणका साथ यो शहर निकट भविष्यमै देशकै उत्कृष्ट स्वास्थ्य गन्तव्य बन्ने विश्वास गर्न सकिन्छ।
