बुटवलको ड्रिम पोर्जेक्ट : ‘बुटवल ट्रेड टावर’ निर्माण
अर्थतन्त्र, व्यापार र शहरी पहिचानमा फड्को मार्ने बहुउद्देश्यीय परियोजना


बुटवल। विकासको गति लिइरहेको बुटवल उपमहानगरपालिकाले शहरको आर्थिक स्वरूप परिवर्तन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यो हो बुटवल ट्रेड टावर। बुटवल–४ मा अवस्थित पुरानो नगरपालिका भवन रहेको क्षेत्रलाई व्यवस्थित पुनःविकास गर्दै बन्ने यो टावर बुटवलको आर्थिक, व्यापारिक तथा शहरी पहिचानको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
‘सपना देख्नु ठूलो कुरा होइन, सपना साकार गर्नु ठूलो कुरा हो’ भन्ने भनाइलाई चरितार्थ गर्दै बुटवल उपमहानगरले अगाडि सारेको यो ड्रिम प्रोजेक्ट शहरको दीर्घकालीन विकासको मार्गचित्रका रूपमा स्थापित हुँदैछ।
झण्डै साढे चार अर्व रुपैया लागत अनुमान गरिएको यस ट्रेड टावर १२ तलाको बनाउने प्रारम्भिक अध्ययन भएको बुटवल उपमहानगरका भवन निर्माण महाशाखा प्रमुख ई.सुमन श्रेष्ठले जनाकारी दिए । उनका अनुसार यस ट्रेड टावर आफ्नै मौलिक किसिमको हुनेछ र यसको परार्शदाता मार्फत प्रारम्भिक अध्ययन भैरहेको छ ।
अत्याधुनिक सुविधा सम्पन्न बुहुउद्धेश्य ट्रेड टावरका ग्राउण्डमा फेलोरमा हाटबजारको पाकिङ् व्यवस्थापन र माथिल्ला तलहरुमा विशिष्टीकृत बान्डेड व्यवसायीक पसलहरु राखिने गरी अध्ययन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा छरिएर रहेका व्यवसायीहरुलाई एउटै स्थानमा सहज र सर्वसुलभ रुपमा व्यवसाय गर्न सक्ने गरी वातावरण तयार गर्न र भविष्यको बुटवलकै पहिचान हुने गरी टे«ड टावर तयार निर्माण गरिने बताए । उनले बुटवल ट्रेड टावर भौतिक संरचना मात्रै भएर आर्थिक गतिशीलता, व्यापारिक एकीकृत सेवा, शहरी व्यवस्थापन र पर्यटन प्रवद्र्धनको केन्द्र बिन्दु बन्ने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरका अनुसार करिब १२ तले बहुउद्देश्यीय भवनका रूपमा बन्ने यो टावरमा व्यवसायिक अफिस स्पेस, आधुनिक शपिङ मल, कन्भेन्सन हल, फुड कोर्ट, सिनेमा हल, अतिथिगृह, अण्डरग्राउन्ड पार्किङ, सञ्चार केन्द्र, सूचना प्रविधि इनोभेसन जोन लगायत संरचनाहरू रहनेछन्।परिकल्पना अनुसार, यो टावर पब्लिक–प्राइभेट पार्टनरशिप (एएए) मोडलमा निर्माण गर्ने योजना बुटवलको छ ।
ट्रेड टावर निर्माण स्थल बुटवलको मुटु मानिने बुटवल–४, हाटवार क्षेत्रमा रहेको पुरानो नगरपालिकाको प्रशासनिक भवन क्षेत्र हो। यो क्षेत्र व्यापारिक हिसाबले अत्यन्तै रणनीतिक छ। बुटवल व्यस्त व्यापारिक गल्ली र सरकारी कार्यालयहरूलाई जोड्ने विन्दुमा यो स्थान पर्छ । टावर निर्माणपछि यो क्षेत्र स्मार्ट सिटीको डेमो जोन हुने विश्वास गरिएको छ। यहीँबाट बुटवलको नयाँ शहरी दृष्टिकोण र पहिचान सुरु हुनेछ।
टावरको प्रारम्भिक डिजाइन एक आधुनिक, पर्यावरणमैत्री र भूकम्प प्रतिरोधी ढाँचामा तयार गर्नेगरी प्रारम्भिक अध्ययन भैरहेको छ। भवनमा हरित प्रविधिको प्रयोग, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ, फायर सेफ्टी सिस्टम, लिफ्ट र एस्केलेटर, डिजिटल सूचना प्रणाली, स्मार्ट बिल्डिङ म्यानेजमेन्ट सिस्टम जस्ता सुविधा रहने प्रारम्भिक अध्ययनमा रहेका छ ।
ट्रेड टावरको अनुमानित लागत साढे दुई अर्ब रुपैयाँको हाराहारीमा हुने बुटवल उपमहानगर भवन महाशाखाले जनाइएको छ। यो परियोजनामा नगरको लगानीसँगै निजी क्षेत्र, सहकारी तथा विदेशी लगानी समेत आकर्षित गरिने बारेमा छलफल भैरहेको छ। बुटवल उपमहानगरले यसका लागि स्पेस सेयरिङ मोडल, लीज सिस्टम, सेयर बजार प्रवेश जस्ता विकल्पहरू अध्ययन गरिरहेको छ।निजी क्षेत्रको विश्वास जित्न टावरको स्वामित्व, व्यवस्थापन, सेवा प्रबन्धन, लाभ बाँडफाँट लगायत विषयमा स्पष्ट नीति हुनुपर्ने आवाज उठ्दै आएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरी अर्यालले बुटवल व्यापार, सेवा र यातायातको संगम बिन्दु रहेको बताउँदै काठमाडौं बाहिरको प्रमुख शहरी केन्द्रका रूपमा बुटवलले अन्तर्राष्ट्रिय व्यापारको सम्भावना बोकेको बताउँछन् । ट्रेड टावरको निर्माणले यी सबै आवश्यकता पूरा गर्ने अर्यालले बताए । उनले ट्रेड टावरले बुटवललाई व्यापारिक केन्द्रको रुपमा मात्रै सहयोग गर्ने नभई आकर्षक पर्यटक गन्तव्यको रूपमा पनि चिनाउने बताए ।
टावर निर्माणसँगै बुटवलमा हजारौं युवाहरूका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना हुनेछ भने व्यापारिक संभावना समेत बढेर जानेछ । यस्तै,स्थायी आयश्रोतका रूपमा दिर्घकालिन रुपमा उपमहानगरपालिकाको आर्थिक आधार थप सुदृढ हुनेछ।
यसललाई लुम्बिनी आउने पर्यटकलाई बुटवलमा रोकिने प्रेरणा दिनेछ। टावरसँगै आउने शहरी सौन्दर्यकरणले बुटवलको स्वरूपनै बदलिनेछ। नगर प्रमुख खेलराज पाण्डेयको भिजन र उपहानगरको सिंगो टिमको सकृयतामा यो निर्माण भए बुटवलले नेपालमै उदाहरणीय शहरी मोडलको सन्देश दिनेछ।
