एक दशकको प्रतीक्षा सकिँदै : बुटवलका मेयर पाण्डेयको सक्रियताले गति लिएको चौराहा–गोलपार्क ६ लेन सडक


बुटवल । एक दशकदेखि अधुरो, विवादास्पद र जनगुनासोको विषय बनेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाको ३ किलोमिटर खण्ड अर्थात् बुटवल चौराहा–गोलपार्क ६ लेन सडक अन्ततः सम्पन्नताको नजिक पुगेको छ।यस निर्माण कार्यलाई गतिशील बनाउन निर्णायक भूमिका खेलेका छन् बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, जसको निरन्तर पहल, समन्वय र दवावका कारण यो बहुप्रतीक्षित सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ। यस सडक खण्ड ‘बुटवल–बलहिया व्यापारिक मार्ग आयोजना’ अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण खण्ड हो, जसले बुटवलको मुख्य चोक चौराहा हुँदै गोलपार्क जोड्ने गर्दछ ।
राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको साढे तीन किलोमिटर सडक साढे दुई वर्षमा निर्माण पूरा गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको थियो। द कञ्चनजंगा बिरूवा जेभी प्रालि कन्स्ट्रक्सन प्रालिले २०७६ साल असोज १२ गतेसम्म काम सक्नेगरी ठेक्का सम्झौता गरे पनि सुरूआतका दिनमा सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरूको अवरोधले निर्माणको काम अगाडि बढ्न सकेको थिएन भने पछि ठेकेदार कम्पनी आफैंले ढिलासुस्ती र लापरबाही गर्दै आएको छ।
२०७३ सालमा ठेक्का सम्झौता गरिए पनि घरधनीहरूले अदालतमा दिएको रिटपछि अदालतको स्टे अर्डरका कारण दुई वर्ष सडक विस्तारको काम अगाडि बढ्न सकेन।२०७५ साल वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खोलिदिए पनि ठेक्का सम्झौता अवधि सकिएपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्याद थप भएको थियो।थपिएको समयमा पनि निर्माण कम्पनीले काम अगाडि नबढाएपछि २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्म पूरा गर्ने गरी दोस्रो पटक म्याद थप गरिदिएको थियो।दोस्रो पटक थपिएको म्यादभित्र पनि ठेकेदार कम्पनी सम्पर्कविहीन बनेपछि सडक अलपत्र बन्न पुगेको थियो ।
निकै चर्चा पाएको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सवा ३ किलोमिटर सडक निर्माण व्यवसायीले दशक हुदा पनि सम्पन्न नगरेपछि अन्ततह ठेक्का नै रद्द पुन ठेक्का गरी सम्झौता भएको हो । सडक खण्ड अलपत्र रहेपछि सडक डिभिजन कार्यालय, बुटवलले २०८१ वैशाख २३ गते निर्माण कम्पनी ‘द कञ्चनजंघा बिरूवा जेभी’ सँगको सम्झौता तोडेको थियो।सडक डिभिजन कार्यालयले पहिलो ठेक्का तोडेपछि २०८१ असार ३१ गते अर्को ठेक्का आह्वान ग¥यो। त्यसमा ‘बाबुल दर्शन मालिका जेभी’ सँग गत वर्ष असोज १८ गते ठेक्का सम्झौता भयो।
दोस्रोपटक गरिएको ठेक्का सम्झौताअनुसार एक वर्षभित्र निर्माणको काम पूरा गर्नुपर्ने छ।सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालका अनुसार बुटवलतर्फको साढे तीन किलोमिटर सडकका लागि भ्याटसहित ३३ करोड र बेलहियातर्फका ७५० मिटरका लागि साढे ६ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको छ।सडक डिभिजन कार्यालयले बुटवलतर्फको सडकका लागि ४८ करोड र बेलहियातर्फको सडकको लागि साढे ७ करोडमा ठेक्का आह्वान गरेको थियो।बाबुल दर्शन मालिकाले बुटवलतर्फ १५ करोड र बेलहियातर्फ एक करोड रूपैयाँ घटेर ठेक्का सम्झौता गरेकाले पहिलो ठेक्काभन्दा ६ करोड रूपैयाँ मात्र लागत वृद्धि भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
यसअघि २०७३ सालमै राजमार्ग चौराहबाट गोलपार्कसम्म भ्याट समेत गरी ४७ करोड २७ लाख र बेलहियाबाट बाइपाससम्म १७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।निर्माण कम्पनीले बुटवलतर्फ नाली निर्माण लगायत विभिन्न कारण देखाउँदै लागत रकम थप गराई ५३ करोड ९७ लाख रूपैयाँ पु¥याएको थियो।
नयाँ ठेक्का सम्झौता भएपछि सडकको नाँपजाँच र क्षेत्राधिकार सफा गर्ने काम भएर तिव्र गतिा काम भैरहेको छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी लम्सालका अनुसार दोस्रो पटकको सम्झौतामा सडकको डिजाइनमा केही संशोधन गरिएको र डिजाइनअनुसारनै काम समयमै सम्पन्न हुने गरी तयारी भएको छ।
चार लेनको मुख्य सडकको क्षेत्र र डिजाइनमा कुनै परिवर्तन नभए पनि सर्भिस लेन, फुटपाथ र ग्रीनबेल्टमा यसअघिको डिजाइनमा थोरै संशोधन गरिएको छ।ग्रीनरी, पार्किङ, स्टेटलाइट लगायत बजार व्यवस्थापनका लागि केही डिजाइन परिवर्तन गरिएको लम्सालले बताए।‘धेरै ठूलो परिवर्तन गरिएको होइन। दायाँबायाँको ग्रीनरी क्षेत्र घटाएर सर्भिसलेन चौडा बनाइएको छ। राजमार्ग चौराहबाट तल सर्भिस लेन तर्फको क्रसिङबाहेक फलामे रेलिङ लगाइएको छ,’ उनले भने, ‘अहिलेको डिजाइनमा क्रसिङ गर्ने क्षेत्र फराकिलो राखेर फलामे रेलिङ पनि घटाइएको छ।’
उनका अनुसार सडकको दुबैतर्फको ग्रीन बेल्ट घटाएर सर्भिसलेन सात मिटर पु¥याइएको छ। यसअघि सर्भिस लेन साढे पाँच मिटरको राखिएको थियो।सर्भिस लेनको आधा भागमा पार्किङ क्षेत्र बनाइने छ। आधा भागमा सवारी साधनको एकतर्फी आवागमन हुनेछ।बुटवलतर्फ तीन मिटरको फुटपाथ, सात मिटरको सर्भिस लेन र साढे दुई मिटरको ग्रीनबेल्ट रहने छ। बुटवल सिटी मार्केटमा असर नपर्ने गरी सडकको डिजाइन गरिएको सूचना अधिकारी लम्सालले बताए। मुख्य सडक भने पहिलेको डिजाइनअनुसार १० मिटरकै हुनेछ।सडकको बीचबीचमा ग्रीन बेल्ट क्षेत्र घटाएर रात्रिकालीन स्टल राख्न मिल्ने गरी डिजाइन गरिएको उनले बताए।
बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने यो सडक पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा समेत पर्छ।नेपालको पूर्व–पश्चिम र बेलहियाबाट सुरू हुने महत्त्वपूर्ण राजमार्ग अन्तर्गतको सडक वर्षौंसम्म अलपत्र पर्दा बजारक्षेत्र नै कुरूप बनेको छ।समयमै सडक निर्माण भएर व्यवसाय गर्ने आशामा घर भत्काएका सयौं व्यवसायीहरू सडककै कारण विस्थापित भएका छन्।यसअघिको निर्माण कम्पनीले बेलहियाबाट बाइपाससम्मको सडकमा दुबैतर्फ नाली बनाउनेबाहेक कुनै काम गरेको छैन। बुटवलतर्फ नाली बनाउने र ढाक्ने काम समेत पूरा गरेको छैन।
निर्माण कम्पनीले हरेक वर्ष म्याद सकिने समयमा काम देखाउने तर वर्षभरि बेवास्ता गर्ने गरेको थियो। सडक डिभिजन कार्यालयले ६ पटक म्याद थपेको थियो।जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले तालुकवाला सबै निकायमा हस्तक्षेपका लागि आग्रह गरेपछि सडक डिभिजन कार्यालयले पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गर्न अनुमति पाएको थियो।
२०७९ सालमा खेलराज पाण्डेय मेयरमा निर्वाचित भएलगत्तै उनले यस सडकलाई “बुटवलको अनुहार”को घोषणा गरे।उनले भनेका थिए“बुटवलको शान चौराहादेखि गोलपार्कसम्मको सडक हो, त्यसलाई असफल हुन दिने छैनौं।“उनको नेतृत्वमा संघीय मन्त्रालय र आयोजना कार्यालयसँग पटक–पटक छलफल र दबाबमुलक पत्राचार भएको थियो भने सडक सुधारका लागि स्थानीय अनुगमन टोली गठन,निर्माण कम्पनीसँग प्रत्यक्ष वार्ता गर्दै आएका छन् । हाल सम्म पनि मेयर पाण्डेयले आफैले प्रत्येक दिन सडक निर्माण र प्रगतिको विषयमा चासो राख्नै अनुगमन गर्ने गरेको सरोकारवालाहरले बताउँने गरेका छन् । उनकै क्रियाशीलताका कारण सडक निर्माणको गति पुनः फर्किएको हो।
बुटवलका स्थानिय जनक थापाले यो सडक कहिल्यै नबन्ला भन्ने डरमा थियौं, तर अहिले काम देखिँदै गएपछि भएको बताए । यस्तै ,सुक्खानगरकीस्थानिय शान्ति खनालले मुख्यसडकमा ट्राफिक जाम र धुलोको सास्ती धेरै भएको र सडक बनेपछि हाम्लाई हिँड्न, बस्न सजिलो हुने भन्दै खुसी व्यक्त गरिन् ।
यो सडक बनेपछि बुटवलको सहरी प्रवेशद्वारको स्वरूप परिवर्तन हुनेछ।स्मार्ट सहर बन्ने यात्राको पहिलो ठोस नतिजा देखिनेछ।बुटवलको विश्वसनीयता र आकर्षण बढ्नेछ। चौराहा–गोलपार्क ६ लेन सडक निर्माणले बुटवलको स्थानीय नेतृत्वको संकल्प, जनअपेक्षाको सम्मान र विकासप्रतिको जवाफदेही सोचको प्रतिबिम्ब बन्ने छ ।मेयर खेलराज पाण्डेयको पहलले स्थानीय सरकार दृढ छ भने, संघीय आयोजनालाई पनि गति दिन सकिन्छ भन्ने उदाहरण यस सडक आयोजनालाई लिन सकिन्छ ।
