प्रहरी तैनाथ गरी ग्रामीण विकास लघुवित्तले गर्यो साधरणसभा, समाज लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रस्ताव पारित गर्न अवैध सभा


बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरूलाई नै सहभागी नगराई शनिवार बुटवलमा साधारण सभा गरेको छ। बुटवल स्थित पाम इन्टरनेसनल होटेलको पाँचौँ तलामा प्रहरी तैनाथ गरी निश्चित शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि शेयर सदस्यहरूलाई सहभागी नै नगराई अवैध रूपमा साधारण सभा गरेको आरोप लागेको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी र शेयर सदस्यको विरोधका बीच साधारणसभा गरिएको छ । समाज लघुवित्तसँग असमान मर्जर गर्नका लागि कर्मचारीको ठूलो समूह र शेयर सदस्यलाई जानकारी समेत नगराइ हतार हतार साधाणसभा गरेपछि त्यसमाथि प्रश्न उठेको हो । शनिबार बुटवलमा नगन्य सदस्य राखेर साधारणसभामा भएको छ ।
सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालको ‘मिलेमतोमा’ औपचारिकताका लागि मात्रै साधरणसभा गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुइँटेलले बताए ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनले संस्थाले समाज लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि शेयर सदस्यलाई सहभागी नगराई अवैध रूपमा साधारणसभा गरेको आरोप लगाएको छ । कर्मचारी संगठनले कार्यक्रमस्थलमा कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए। कर्मचारीमध्येका शेयर सदस्यहरूलाई प्रवेशमा प्रहरीले पूर्ण रोक लगाएको थियो।
सर्वसाधरणतर्फका शेयर सदस्यहरूलाई सूचना समेत नगरी ढोका थुनेर आफू अनुकूलको निर्णय गर्न साधारणसभा गरिएको शेयर सदस्य लिलामाया थापाले बताइन् । उनले आफूहरूले गरेको लगानी फिर्ता गर्नुपर्ने माग समेत राखेकी थिइन । यस्तै, अर्की शेयर सदस्य सरस्वती न्यौपानेले साधारणसभामा शेयर सदस्यहरूलाई नै सहभागी नगराएर के गर्न खोजेको भन्दै सञ्चालकहरूसँग प्रश्न गरेकी थिइन।
सहभागी शेयर सदस्यहरुले आफूहरू शेयर सदस्य हुनुको नाताले दसौँ साधारण सभामा पेस हुने प्रस्तावहरूमा छलफल गर्न पाइएला भन्दा सुरुमा प्रवेश नदिइएको र प्रवेश गर्नासाथ साधरणसभा सकिएको बताएका छन् ।
साधरणसभा प्रहरी सुरक्षा घेरामा गरिए पनि शेयर सदस्य र कर्मचारीहरूको विरोध भने यथावत् देखिएको छ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था राष्ट्रिय कर्मचारी संगठनले समाज लघुवित्त वित्तीय संस्थासँग अवैधानिक रूपमा स्वार्थका लागि मर्जरमा जान खोजेको भन्दै विरोध गर्दै आएको छ।
आर्थिक वर्ष २०८०।८१ को वित्तीय सूचकांकमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तुलनामा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजी २.३ प्रतिशत, निक्षेप संकलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको उल्लेख गर्दै हरेक सूचकहरू ५ प्रतिशत भन्दा कम भएको संस्था छानेर नाममात्रको संस्थासँग मर्जर गर्न खोजेको संगठनले विरोध ब्यानरमा लेखेको छ।
मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसँग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरी विरोधका बाबजुद पनि साधरणसभा गर्नुले बदमासी भएको पुष्टि भएको तर्क गरिएको छ। दसौँ साधारण सभाको विशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाम्भे प्रस्ताव पारित गरेको छ।
कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै व्यक्ति हुन नमिल्ने प्रावधान रहे पनि श्याम कुमार कटुवालले दुवै जिम्मेवारी सम्हालेका छन्। २०८१ साल फागुन १७ गते समाज लघुवित्त वित्तीय संस्थासँग एकीकरण (मर्जर) गर्ने सम्झौता गरिएको थियो। तर, समझदारीबारे शेयर सदस्य र कर्मचारीहरूलाई भने साधारण सभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो।
नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि कमजोर वित्तीय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको आरोप लागेको छ । यता प्रमुख कार्यकारी अधिकृत कटुवालले भने कर्मचारीहरूको विरोधका कारण प्रहरीलाई सुरक्षाका लागि खबर गरेको बताए। उनले साधारणसभा विधि सम्मत भएको दाबी गर्दै शेयर सदस्यहरूलाई नरोकेको बताए। तर उनले त्यसो भने पनि शेयर सदस्यहरू प्रवेश नपाएको भन्दै विरोध गरेका थिए।
साधरणसभाको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको थियो। ग्रामीण लघुवित्त वित्तीय संस्थामा सरकार सहित विभिन्न ७० संघसंस्था र सर्वसाधारणको ३० प्रतिशत शेयर रहेको छ। जसको ९८ लाख २५ हजार शेयर कित्ता रहेको छ।
