जेनजी आन्दोलनको नाममा घुसपैठ, समाजमा राम्रो छवि भएका जनप्रतिनिधीलाईनै बनाईयो निशाना


बुटवल । जेन जी आन्दोलनका क्रममा रुपन्देहीका सरकारी कार्यालय, निजी व्यवसायिक प्रतिष्ठानसंगै नेता, जनप्रतिनीधिको बास स्थान जलाइएको छ । जसका कारण राम्रो काम गरिरहेका नेता तथा व्यवसायिक रुपमा समाजमा प्रतिष्ठा कमाइरहेका निजी प्रतिष्ठान संचालकलाई मानसिक चोट पुगेको छ ।
आन्दोलनका क्रममा तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणको घरमा तोडफोड गरि आगजनी गरियो । प्रमुख खाण जन्मिएको, हुर्किएको घर साथै खाँणका दाजु पुर्व गृहमन्त्री बालकृष्ण खाण र भाइ श्यामकृष्ण खाणको घर जलेर ध्वस्त भएको छ ।
नगर प्रमुख खाण जन्मनु पुर्व नै उनका पिताले २०२० सालमा बनाएको तिलोत्तमा ८ स्थित घर, राजनितीमा चासो नै नराख्ने व्यवसायिक व्यक्ति श्यामकृष्ण खाणको घर जलाएर जेन जी आन्दोलनका नाममा भएको घुषपैठले ठुलो क्षती पुगेको छ ।
आफु निर्वाचित हुनुपुर्व नै नागरिकसंग वाचा गरेर अघि बढेका नगर प्रमुख खाणले आफु प्रमुख भएपछि नगरवासीको चाहना अनुरुपका काम गरिरहेका छन् । उनले आफ्नो तलब भत्ता सुविधा नै नलिइकन सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरपालीकाको पहिचान बढाउन अहम भुमिका निर्वाह गरेका छन् ।
आर्थिक रुपमा कुनै विषयमा नचुकीकन सेवाभावले काम गरिरहेका नगर प्रमुख खाणले प्रमुख नहुंदै बनेको आफ्नो घरलाई निशाना बनाइनु जेन जी आन्दोलनको उद्धेश्य नरहेको बताएका छन् । उनले जेन जी आन्दोलन देशमा परिवर्तन ल्याउनका लागि आयोजना गरिएको बुझेकामा त्यस विपरित क्षती भएपछि त्यसले चिन्ता पैदा गरेको बताए ।
रुपन्देहीमा आन्दोलनका कारण २७ वटा सरकारी कार्यालय, २७ वटा निजी आवास र व्यापारिक प्रतिष्ठान तथा १७ वटा पार्टी कार्यालय गरी ७१ वटा भवन र संरचनामा आगजनी तोडफोड र लुटपाट भएको छ ।
स्थानिय स्तरमा शालिन र भद्र स्वभागको राम्रो छवि बनाएका सादगी नेताका रुपमा परिचित सैनामैना नगरपालीकाका प्रमुख फणिन्द्र शर्माको घरमा समेत आगजनी भयो । उक्त घर धेरै पुरानो भएकाले नगर प्रमुख भएपछि आर्थिक हिनामिना गरि बनाएको आधार नै नरहेको पुष्टी हुन्छ । प्रमुख शर्मा जनप्रतिनिधी भइसकेपछि पालीकाको विकास, नगरवासीको हितमा काम गर्दै अघि बढेका जनप्रतिनिधी हुन् ।
त्यस्तै, सिद्धार्थनगर नगरपालीकाका प्रमुख इस्तियाक अहमद खानंको घरमा समेत आगजनी भयो । बिरामी श्रीमतीलाई उपचार गर्न गएका बेला उनको घरमा आगजनी र तोडफोड भएको थियो ।
उनीहरुसंगै पुर्व मुख्यमन्त्री लीला गिरी, प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, प्रतिनिधी सभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेय, सङ्घीय सांसद शर्बेन्द्र नाथ सुक्लाको समेत घरमा आगजनी र तोडफोड गरे ।
देवदह नगरपालीकाका प्रमुख धु्रव खरेल, सैनामैनाकी उपप्रमुख विना राना, तिलोत्तमा १ का वडाध्यक्ष फर्सुराम गिरी, सैनामैनाका पुर्व नगर प्रमुख चित्रबहादुर कार्की, बुटवल उपमहानगरपालीकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी, राप्रपाका नेता सागर प्रताप राणाको घरमा पनि तोडफोड, आगजनी भएको थियो ।
आर्थिक रुपमा कुनै विवादमा नपरेका साथै सामाजिक रुपमा सकारात्मक कामकै पहिचान बनाएका नेता तथा सामाजिक व्यक्तिहरुको वासस्थानमा तोडफोड र आगजनी हुंदा समाजमा नकारात्मक दृष्टकोण पैदा भएको छ ।
रुपन्देहीमा रहेका ठुला ४ होटेलमा समेत तोडफोड र आगजनी भयो ।
तिलोत्तमा ५ स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, तिलोत्तमा ४ मा रहेको होटेल टुलिप, ओमसतिया स्थित बोधी रेडसन र सिद्धार्थनगरको मौर्या होटेलमा समेत क्षती भएको छ । प्रदर्शनकारीहरूले बुटवल र भैरहवामा रहेका भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट गरेका छन्। भाटभटेनीका दुई वटै केन्द्रमा रहेका अधिकांश वस्तुहरू फुटाउने र चोरी गरेर लगेको विभिनन तस्विर तथा भिडियोले देखाएको छ ।
