Shivam

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री प्रदीप पौडेलको सम्बोधन : समतामूलक स्वास्थ्य सेवा र सहकार्यमा जोड

0
Burger


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समावेशी र समतामूलक स्वास्थ्य सेवाको विस्तारका लागि स्रोतको सुनिश्चितता र विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारी नियन्त्रण, स्वास्थ्य पूर्वतयारी र डिजिटल स्वास्थ्य प्रणालीमा नविनतम उपाय आवश्यक रहेको उल्लेख गरे । उनले यस्ता चुनौतीहरूसँग सामना गर्न विश्व स्वास्थ्य सङ्गठन (WHO) को भूमिकालाई अत्यन्तै महत्त्वपूर्ण भनेका छन् ।

मन्त्री पौडेलले महामारी नियन्त्रणका लागि WHOले अगाडि सारेको सहमति र रणनीतिकालाई नेपालले स्वागत गरेको बताए । उनले सदस्य राष्ट्रहरूबीच बलियो सहकार्यको आह्वान गर्दै स्वास्थ्य सुरक्षाका साझा उद्देश्य हासिल गर्न समन्वय जरुरी रहेको धारणा राखे ।

सम्बोधनमा मन्त्री पौडेलले नेपालले मातृ–शिशु मृत्युदर न्यूनीकरण, पोलियो उन्मूलन र खोप पहुँच विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी गराए । महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम र सूर्तीजन्य पदार्थ नियन्त्रण अभियानले पनि सकारात्मक परिणाम दिएको उनको भनाइ थियो ।

उनले नेपालमा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम, निरोधात्मक सेवा विस्तार र डिजिटल स्वास्थ्य पूर्वाधारलाई महामारी पूर्वतयारीको महत्वपूर्ण अङ्गको रूपमा औंल्याए ।

जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारिरहेको असरप्रति ध्यानाकर्षण गराउँदै मन्त्री पौडेलले नेपालको सगरमाथा संवादमार्फत विश्वको ध्यान तानिएको बताए । उनले जलवायु स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमै आयोजना गर्ने घोषणा गरे ।

सम्मेलनमा सहभागिता जनाउँदै मन्त्री पौडेलले विभिन्न देशका उच्च स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गर्दै नेपालको स्वास्थ्य प्रणाली सुधारमा सहकार्यका प्रस्तावहरू समेत राखेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।