डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन २०८३ सम्पन्न


बुटवल, ६ असार ।
एनसीसी एजुकेशन अन्तर्गत सञ्चालित लुम्बिनी प्रदेशका रुपन्देही र नवलपरासीका विद्यालयहरू बीचको प्रादेशिक स्तरको सूचना प्रविधि प्रतिष्प्रर्धा ‘डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ब्रिटिश शैक्षिक योग्यताहरू प्रदान गर्दै आएको एनसीसी एजुकेशनको पाठ्यक्रममा आधारित रही डिजीस्कूल लुम्बिनी प्रदेश र स्मार्ट आईटी सोलुसनको संयुक्त सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
गत जेष्ठ ३१ गते नवलपरासीमा सम्पन्न भएको प्रतियोगिता शुक्रबार रुपन्देहीको सैनामैनामा कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका भित्रका विद्यार्थीहरु विचको .प्रतिष्प्रर्धात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा डिजिटल सीप, तार्किक सोच, सृजनशीलता तथा २१औँ शताब्दीका आवश्यक दक्षतातर्फ उन्मुख गराउने उद्देश्यका साथ रामपुर रिभाइभल इङ्लिस बोर्डिङ स्कूलमा कार्यक्रम सम्पन्न भएको हो ।
एनसीसी एजुकेशनको पाठ्यक्रम सञ्चालन गरिरहेका विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरू मात्र सहभागी यस प्रतियोगिताले विद्यालयस्तरमै अन्तर्राष्ट्रिय गुणस्तरको डिजिटल शिक्षालाई व्यावहारिक रूपमा प्रयोग गर्ने उत्कृष्ट अवसर प्रदान गरेको डिजीस्कूल लुम्बिनी प्रदेशका शैक्षिक सहजकर्ता अनीश कँडेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार रामापुरको प्रतियोगितामा विभिन्न चारवटा विधामा प्रतिष्प्रर्धा गराइएको थियो । कक्षा ५मा अध्ययनरत विद्यार्थीहरुलाई कोल्याब आर्ट च्यालेन्ज प्रतियोगिता राखिएकोमा बुद्ध दिप इन्ङ्गलिस बोर्डिङ्ग स्कूलकी युजिना बस्नेत र सञ्जना नेपाली प्रथम, सुनगाभा पब्लिक सेकेण्डरी स्कूलका जिनेश गौतम र कुशल पुन द्धितीय, प्याराडाइज इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका आस्था राना र सुप्रिया घर्ती मगर तृतीय भएका छन् ।
यस्तै, कक्षा ६ का विद्यार्थीहरुका लागि स्क्राच एनिमेसन च्यालेन्ज प्रतियोगित अन्तरगत सुनगाभा पब्लिक स्कूलका कृष्ण पराजुली प्रथम, रामपुर रिभाइभल इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका कृतव न्यौपाने र प्याराडाइज इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका रिदम भट्टराई तृतीय भएका छन् ।
कक्षा ७का विद्यार्थीहरुका लागि आयोजना गरिएको फ्लोर चार्ट मास्टर च्यालेन्ज प्रतियोगितामा प्रभात इन्ङ्गलिस बोर्डिङ्ग स्कूलकी अनुष्का शर्मा प्रथम भएकी छन् । यस्तै रामपुर रिभाइभल इन्ङ्गलिस बोर्डिङ्ग स्कूलकीकी दिपिशा खनाल द्धितीय भएकी छन् भने बुद्ध दीप इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका यदु अधिकारी तृतीय भएको आयोजकले जनाएका छन् ।
कक्षा ८का विद्यार्थीहरुका लागि आयोजना गरिएको बुुलियन लजिक कम्पिटिसनमा बुद्ध दीप इन्ङ्गलिस बोर्डिङ्ग स्कूलका धिराज दरलामी र चिरञ्जीवी शर्मा प्रथम र द्धितीय भएका छन् भने बुद्ध दीपकै तिया थापा तृतीय भएकी छन् ।
विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा निर्णायक मण्डलले विद्यार्थीहरूको सृजनशीलता, तार्किक क्षमता, प्रस्तुतीकरण सीप, समस्या समाधान क्षमता तथा डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोगका आधारमा विजेताहरू छनोट गरेको थियो।
डिजीस्कूल लुम्बिनी प्रदेशले एनसीसी एजुकेशन अन्तर्गतका विद्यालयहरूमा डिजिटल शिक्षाको गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण तथा विद्यार्थीहरूलाई भविष्यका डिजिटल नेतृत्वकर्ताको रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानभन्दा माथि उठेर व्यावहारिक र सिर्जनशील डिजिटल नेतृत्व विकास गर्न नै कार्यक्रमलाई निरन्तरता दिँदै आएको डिजीस्कूल लुम्बिनी प्रदेशका शैक्षिक सहजकर्ता अंकित गुरुङ्गले बताउनु भयो । यस प्रतियोगिताले डिजिटल शिक्षाको प्रभावकारी अभ्याससँगै विद्यार्थीहरूलाई भविष्यका सक्षम, सिर्जनशील र प्रविधिमैत्री नागरिक बन्न थप प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ।
आगामी प्रतियोगिता असार ९ गते कपिलवस्तु र असार १२ गते सुद्धोधन क्षेत्रका विद्यालय, विद्यार्थी लक्षित प्रतियोगितको आयोजना गर्ने तयारी गरिएको छ । यस्तै, असार १२ गते बुटवल, तिलोत्तमा र भैरहवा क्षेत्रका विद्यालय र विद्यार्थीहरुलाई लक्षित गरी प्रतियोगिता ‘डिजी लर्नर क्लासवाइज आईटी कम्पिटिसन २०८३’ आयोेजना गर्न लागिएको हो ।
