एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा ९एमाले० सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शनिवार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका हल्लाहरूको पछि नलाग्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरेका हुन् ।
उनले समाचारमा आउने कतिपय विषयले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै वस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए । पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्नु रहेको बताए ।
उनले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको दाबी समेत गरे । पूर्वप्रधानमन्त्री नेपालले सतहमा आएका समाचारकै भरमा भ्रममा नपर्न आग्रह गरे ।
उनले भने ‘त्यसै हुनाले तपाईँहरू माथिका सतही कुरा हेरेर त्यसमा बग्ने होइन, भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ । सबै विषयका बारेमा जानकारी राख्नुपर्छ । समाचारमा कुनै कुरा आयो भने हामी त्यसैमा बग्ने गर्छौँ । सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ । मलाई त फोनको जवाफ दिँदा–दिँदै हैरान भएको छु । तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन । एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस विषयमा तपाईँहरू कोही पनि भ्रममा नपर्नुहोस् ।
अहिले हाम्रो पार्टी जुन विचार र मान्यता लिएर अगाडि बढिरहेको छ, त्यसले अवश्य पनि देशमा रहेका सबै देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ, सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ । साथै, सबै लोकतान्त्रिक शक्तिहरू र गणतन्त्रका पक्षधर शक्तिहरूलाई पनि साथमा लिएर जानुपर्छ । किनभने देशको रक्षा गर्ने जिम्मेवारी, राष्ट्रहितको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ । जनताको हितको पक्षमा उभिने दायित्व पनि हाम्रै हो । त्यसै हुनाले जनताको पक्षमा, राष्ट्रको पक्षमा, परिवर्तनको पक्षमा र रूपान्तरणको पक्षमा स्पष्ट सोचका साथ हामी अगाडि बढ्नुपर्छ । त्यसैका निम्ति हामीले ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ भन्ने गरेका छौँ । नेपालको आफ्नै विशेषता छ । यो बहुजातीय देश हो, बहुभाषिक देश हो । नेपालमा आफ्नै किसिमका संस्कृति र परम्पराहरू छन्। नेपाली जनताका आफ्नै गौरवशाली इतिहास छन् । नेपाल कहिल्यै पनि कुनै देशको उपनिवेश बनेन। त्यसैले हामी आफ्ना पुर्खाहरूप्रति गौरवबोध पनि गर्छौँ ।’
नेता नेपालले आफ्ना पुर्खाहरूको गौरवशाली इतिहासको रक्षा गर्दै देशमा रहेका सबै परिवर्तनकारी शक्तिहरूलाई एकै ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
