प्रशासनको अवरोध चिर्दै मर्चवारमा जनमत पार्टीको शक्ति प्रदर्शनः ‘किसान राज’ ल्याउने भोपेन्द्रको उद्घोष


मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला जनमत पार्टीले प्रशासनको कडा अवरोधका बिच भव्य जनसभा सम्पन्न गरेको छ। मर्चवारको मुख्य केन्द्र माझगाँवामा आयोजित सभामा हजारौँको संख्यामा उपस्थित युवा समर्थक, किसान तथा स्थानीय सर्वसाधारणले जनमत पार्टी र उम्मेदवार भोपेन्द्र प्रसाद यादवको पक्षमा ऐक्यबद्धता जनाएका छन्।
सभा सुरु हुनुपूर्व स्थानीय प्रशासन नेपाल प्रहरी र सिमा सुरक्षा बल(ससस्त्र) प्रहरीले कार्यक्रम स्थलमा अवरोध सिर्जना गर्न खोजेको थियो। तर, जनमत पार्टीका कार्यकर्ता र स्थानीयहरुको ठूलो समूहले जनमत पार्टी र उम्मेदवार भोपेन्द्र प्रसाद यादवको पक्षमा नारावाजी गरेपछि प्रशासन पछि हट्न बाध्य भएको थियो । अवरोधका बाबजुद मर्चवारका विभिन्न गाउँबाट सयौँको संख्यामा रिक्सा, मोटरसाइकल र पैदल टोली सभास्थल पुगेका थिए भने ठुलो ¥याली समेत निकालिएको थियो ।
रुपन्देही क्षेत्र नं.४मा जनमत पार्टीको राम्रो सांगठनिक पकड समेत रहेको छ । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवनै उम्मेदवार रहेको यस क्षेत्रमा विपक्षीहरुले जनमतको बढ्दो लोकप्रियतालाई देखेर सभा विथोल्न प्रशासनको प्रयोग गरेको समर्थकहरुले बताएका छन् ।
जनमत पार्टीका रुपन्देही ४ का उम्मेदवार भोपेन्द्र प्रसाद यादवले सभालाई सम्बोधन गर्दै भने ,“हामीले शान्तिपूर्ण रूपमा आफ्ना एजेन्डा राख्न खोज्दा प्रशासन प्रयोग गरेर रोक्न खोजियो, तर मर्चवारका जनताले आज प्रमाणित गरिदिए कि अब परिवर्तनको लहर कसैले रोकेर रोकिँदैन,” ।
जनमतको हर्न चुनाव चिन्ह् लिएन उम्मेदवार बनेका यादवले आफूहरु गफ नगर्ने तर किसानले खेती गर्ने बेला सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न वडा–वडामै मल भण्डारण केन्द्र बनाउने, सिमानामा किसानले भोग्नुपर्ने सुरक्षाकर्मीको दुव्र्यवहार र सास्ती अन्त्य गर्ने र मर्चवार लिफ्ट सिँचाइलाई पूर्ण क्षमतामा चलाउने र किसानलाई बिजुली महसुलमा छुट दिने योजना लगायतका विषयलाई प्राथमिकता दिने बताए ।

मर्चवारी–१ का स्थानीय श्रीराम यादवका अनुसार, आजको सभामा देखिएको जनसहभागिताले रुपन्देही ४ मा परम्परागत शक्तिहरू (कांग्रेस, जसपा र एमाले) लाई ठूलो चुनौती दिएको छ। विशेषगरी युवा र किसानहरू ‘हर्न’ (लाउड स्पिकर) छाप लिएर मैदानमा उत्रिएका भोपेन्द्र यादवको पक्षमा गोलबन्द देखिएका छन्। यसअघि नेपाली कांग्रेसका आशुतोष मिश्र र जसपाका सर्वेन्द्रनाथ शुक्लबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि आजको सफल सभाले भोपेन्द्र प्रसाद यादवलाई मुख्य प्रतिस्पर्धीको रूपमा बलियोसँग उभ्याएको छ। विश्लेषकहरूका अनुसार, यदि जनमत पार्टीले यो जनलहरलाई मतदानको दिनसम्म टिकाउन सक्यो भने मर्चवारको चुनावी नतिजा अप्रत्याशित हुन सक्ने आकलन गरेका छन् ।
तुलनात्मक रूपमा यो निर्वाचन क्षेत्र रुपन्देहीको कम विकसित क्षेत्र मानिन्छ । यहाँ २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टीबाट शुक्ला निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका प्रमोद यादव दोस्रो र जनमत पार्टीका भूपेन्द्र यादव तेस्रो स्थानमा रहे । उक्त निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएर जसपा नेपाललाई सघाएको थियो ।
समानुपातिक मततर्फ लोकतान्त्रिक समाजवादी पार्टीले त्यतिबेला २२ हजार ३७ मत प्राप्त गरेको थियो । यस्तै, नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ४५८, एमालेले २ हजार ८२३ र रास्वपाले एक हजार ६५७ मत प्राप्त गरेका थिए । त्यो बेला लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभातर्फ निर्वाचित कन्हैया बनियाँ प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । बनियाँ यसअघि शुक्लाकै खास सहयोगी थिए ।
विगतका निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ एमालेको खासै संगठन देखिँदैन ।
यो निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन दर्ताको केही अघिमात्र कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको हो ।रास्वपाका उम्मेदवार बनियाँ र एमालेका उम्मेदवार यादव अन्तिम समयमा आफ्नो साविकको पार्टी त्यागेर उम्मेदवार बनेका हुन् । अन्तिम समयमा दल परिवर्तन गरेर आउने उम्मेदवारलाई मतदाताले पत्याउने सम्भावना कम हुने स्थानिय मतदाताको बुझाई छ।
जनमत पार्टीका भूपेन्द्र यादवले अघिल्लो निर्वाचनमा आफू तेस्रो भए पनि अहिले पहिलो बन्ने आधार रहेको बताउँछन् । आफू वर्षौंदेखि निरन्तर निर्वाचन क्षेत्रमा खटिरहेको उल्लेख गर्दै उनले मतदाताको विश्वास पाइरहेको दाबी गरे । यस्तै २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन् ।
उनी मर्चावरको विकासमा आफूले गरेको योगदान नै जितको आधार रहेको दाबी गर्छन। अघिल्लो निर्वाचनमा निर्वाचित शुक्लाको मत अहिले उनकै पार्टी छाडेर रास्वपामा गएका कन्हैयाले काट्दा त्यसको लाभ आफूलाई हुने यादवको भनाइ छ । पूर्व राज्यमन्त्री ओमप्रकाश यादव अहिले जनमत पार्टीमा आएपछि आफूलाई थप सहज भएको उनले बताए ।
२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्र मधेसी समुदायको बाहुल्यता छ । यो निर्वाचन क्षेत्रको अधिकांश भूभाग भारतको सीमासँग जोडिएको छ । मर्चवारीमाइ, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउँपालिकाका अधिकांश वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता छन् ।
