सरस्वती मा वि गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

गोविन्द नेपाली,
कावासोती, पाैष २७ ।
सरस्वती माध्यमिक विद्यालय गोछडाको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
बुधबार विद्यालय प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम भएको हो ।
कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख फुल कुमारी थनैतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थनैतले शिक्षा क्षेत्रको विकासका लागि राज्यले आवश्यक बजेट नीति र कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक भौतिक स्तिथिमा निकै सुधार आएको बताउनु भयो । धेरै जसो सामुदायिक विद्यालयहरू निजी भन्दा पनि अब्बल बन्दै गएको बताउनुभयो । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो । आवश्यक साथ सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता समेत प्रकट गर्नु भयो ।

कार्यक्रममा बोल्दै वडा नंं. १७
का वडा अध्यक्ष चुडामणि थनैतले विद्यालय शैक्षिक तथा भौतिक सुधारका लागि बजेट उपलब्ध गराउन वडाबाट बजेटको पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फणिन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कावासोती शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, कावासोती १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठ सिद्धार्थ आवासीय मा. वि. कावासोतीका प्रमुख भोजराज दाहालसहित विभिन्न वडाका वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकार, अभिभावक तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युक्त प्रसाद गौडेलको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा १ दर्जन बढी पूर्व शिक्षकलाई सम्मान गर्दै जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे । विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान प्रदर्शनी विद्यालयकाे प्राङ्गणमा राखिएको थियो । विभिन्न वडाका आमा समूहहरूबाट आ – आफ्नो भेष भुषा सहित झाँकीको प्रस्तुती रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधान अध्यापक डिल्लीराम न्यौपानेले गर्नु भएको थियोे ।
