४०/५० करोडभन्दा माथिको भ्रष्टाचारमा ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति हुन्छ : घनश्याम भुसाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन् ।
शनिवार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०/५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने बताएका हुन् ।
उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । उनले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताए ।
महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताए । उनले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाए । चुच्चे रेल र टावरहरूको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उनको भनाई छ ।
उनले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताए । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उनले बताए ।
