देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्छ : डोलप्रसाद अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।
शनिवार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन् । उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताए ।
उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए । उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको सङ्कल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए ।
उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे ।उनले रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरू भन्दा धेरै कुरामा रास्वपा फरक भएको बताए ।