रुपन्देहीमा लामिछानेको बयान सकियो , आजै पोखरा पठाईदै
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानकाे रूपन्देहीमा बयान सकिएकाे छ । जिल्ला सरकारी वकिल रुपन्देहीमा झण्डै साढे २३ घण्टा बयान लिइएको छ। कार्तिक २७ देखि २९ गतेसम्म (तीन दिन) लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको र सबै प्रश्नको सहज रुपमै लामिछानेले जवाफ दिएको जिल्ला सरकारी वकील कार्यालय रुपन्देहीका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । थप बयान लिने अवस्था रहे पछि लिइने तर, अहिले भने बयान सकिएको पौडेलले जानकारी दिए । उनले अहिलेलाई बयान सकिए पनि पछि अन्य आरोपीको बयान र तथ्य प्रमाण फेला परे पुनः बयान हुन सक्ने जनाए ।
बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई रुपन्देही ल्याइएको थियो । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा गएको संसदीय विशेष छानबीन समितिको प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा अनुसन्धान लागि बयान लिइएको हो । लामिछानेलाई आजै पोखरा पठाउने तयारी गरिएको छ ।