Shivam

बुटवलका ३ स्थानमा ट्राफिक लाइट,नगर प्रमुख पाण्डेयद्धारा शिलान्यास

0
Burger

बुटवल । बुटवलका मुख्य तीन चाेकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चाेकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यकाे शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा,स्व्च्छ,हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चाेकमा २३ वटा हाईमास्ड लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चाेक,मिलन चाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चाैपायाकाे ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउदै उनलेे दाेस्राे चरणमा ट्राफिक लाइट जडान गर्न लागिएको उल्लेख गरे । कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटकाे महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

बुटवलको कालिका चाेकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनलेे ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास ब्यक्त गरे । उपमहानगरपालिकाकाे बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाकाे लागतमा कालिका चाेकसँगै मिलनचाेक र ट्राफिक चाेकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाग्रह महाशाखा प्रमुख गाैतम राैनियारले जानकारी दिए ।

बजारको सुरक्षाका लागि करिब ५२ लाखकाे लगानीमा बुटवलको वडा नं ४,५,६,९ काे बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गर्ने कार्य भइरहेको उनलेे बताए । ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न गर्न तीन महिनाको म्याद भए पनि १५ भित्रमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले आश्वासन दिएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पाेखरेलले जानकारी गराए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।