Shivam

रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउँदै किशोरीहरु

0
Burger

 

दाङ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहरुले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन्। उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनको लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन ।

मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै उनले किशोरकिशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने गरी कार्यक्रम बनाएको जानकारी दिए ।

समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तीव्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागीता सुनिश्चित गरिने पनि उनले बताए । ‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’उनले भने,‘बनेका नीतिनियम तथा कानूनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’
बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्र पार्नुपर्ने बताए । उनले नीतिगत रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्बोधन गरिने पनि बताए ।

पुथाउत्तरगंगामा विकास र समृद्धि पुर्‍याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । ‘त्यसक्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’उनले भने–‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिए ।

समुदायमा अझै पनि जातीय छुवाछुत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता सामाजिक र साँस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् ।

पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरुमा लागूऔषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता सामाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामुलक अभियान चलाउन माग राखिएको छ ।

स्वास्थ्य चौकीको स्थापना र सहज उपचार सेवादेखि खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएता पनि त्यो भत्ता समयमा आइ नपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनीक तथा लैंगिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।

मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आबद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्ती लगायत आएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।