बुटवलको औद्योगिक व्यापार मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने
बुटवल । बुटवलको मेलामा मुख्य ७ विधामा प्रतियोगिता हुने छन् । मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अनुसार यहि पुसको १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गरिने मेलामा मुख्यतया ७ विधामा प्रतियोगिता गर्न लागिएको हो ।
१६ दिनसम्म सञ्चालन गरिने मेलामा लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता र टिकटक प्रतियोगिता गर्न लागिएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
त्यसबाहेक मेला स्थलमा अन्य प्रतियोगिताहरु पनि हुने छन् ।मेलामा लोक संस्कृतिसंग सम्बन्धित विषयमा ५ वटा विधामा प्रतियोगिता गराउन लागिएको छ भने मेलाको प्रचार प्रसारमा समेत टेवा पुग्नेगरी टिकटक प्रतियोगिता गर्न लागिएको छ । त्यसैगरी बुटवलमै पहिलो पटक हास्यव्यङ्ग्य प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै द्वितीय हुने समुहलाई ५० हजार, तृतीय हुने समुहलाई २५ हजार र सान्त्वना हुने समुहलाई ११ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्ने मेलाको अर्को मुख्य आकर्षण हो ‘भ्वाईस अफ बुटवल’ । भ्वाईस अफ बुटवलमा प्रथम हुनेलाई पुरस्कार ५५ हजार रुपैंया, द्वितीय हुनेलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।
औद्योगिक व्यापार मेला बुटवल–२०८१ मा विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना स्थानमा आउनेलाई ३ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै भजन चुट्का प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ ।
यो मेलामा अर्को नयाँ विधामा टिकटक प्रतियोगिता गर्न लागिएको छ । मेलाको प्रचारप्रसारलाई समेत सहयोग हुनेगरी मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो । टिकटक प्रतियोगिता भने यहि मंसिरको २५ गतेदेखि सुरु हुनेछ । टिकटक प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने मेला सचिवालयले जनाएको छ । त्यस बाहेक मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।
मेलामा लोक सांस्कृतिक, आधुनिक लगायतका कलाकारहरुको प्रस्तुती तथा राष्ट्रिय स्तरमै पहिचान बनाएका कलाकारहरुको नृत्य समेत रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा सांस्कृति कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गर्न लागिएको मेलामा ५ सय स्टल रहने छ ।
जसमा १० वटा विषयगत पेभिलियन निर्माण गरिने छ । त्यस्तै कृषि पेभिलियनमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिईएको छ भने व्यूटि पेभिलियन तर्फ उपत्यका बाहिर पहिलो पटक व्यूटि एक्स्पोको तयारी गरिएको छ ।