बुटवल मेलाको ७० रुपैयांको टिकटले लुम्बिनी केबलकारमा २५० रुपैयां छुट
बुटवल । बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको टिकटले लुम्बिनी केबलकारको टिकटमा २५० रुपैयां छुट दिएको छ ।
मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला आयोजक बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लि.बीच सम्झौता भइसकेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । कम्पनीले आन्तरिक र वाह्य पर्यटकलाई विभिन्न अवसरमा टिकट दरमा छुट दिने नीति अनुसार बुटवलको औद्योगिक ब्यापार मेलाका दर्शकलाई पनि सहुलियत दिने उद्देश्य अनुसार यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको केबलकारको टप स्टेशन बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ ।
यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउँछन् ।
माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ ( पिङ ) लगायत पूर्वाधार बनेका छन् । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।
केबलकारले औद्योगिक ब्यापार मेलामा पनि स्टल राखेको छ । त्यहांबाट पनि केबलकारको टिकट लिन सकिने कम्पनीले जनाएको छ ।
पुस ३ गतेदेखि १८ गतेसम्म १६ दिन सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।