Shivam

नेपाल र गाैतम विच पार्टी एकताको सैद्धान्तिक समझदारी, नेकपा एसमा वामदेव गौतमलाई तेस्रो वरीयता

0
Burger

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । नेकपा एसका शीर्ष नेता र अभियानका संयोजक वामदेव गौतम सहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा दुवै पक्षका शीर्ष नेताहरूको बैठकपछि भएको समझदारी अनुसार गौतम एकीकृत समाजवादीका वरिष्ठ नेता बन्नेछन् । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरीयता प्रदान गरिने सहमति भएको छ ।

हाल एकीकृत समाजवादीमा वरिष्ठ नेताहरूको पङ्क्तिमा डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत, र प्रमेश हमाल छन् । गौतमसहित अभियानका अन्य नेताहरूको जिम्मेवारी र व्यवस्थापनबारे थप छलफल हुने बताइएको छ । अभियानका उपाध्यक्ष सात जना, महासचिव, उपमहासचिव, सचिव, र कोषाध्यक्षसहित ८९ केन्द्रीय सदस्यलाई व्यवस्थापन गरिने सहमति भएको छ । समझदारी भएको पुष्टि गर्दै अध्यक्ष गौतमले भने, ‘यो प्रक्रियाले धेरै आशा जगाएको छ । छिट्टै हामी औपचारिक रूपमा एकता घोषणा गर्नेछौँ ।’

गौतमले यसअघि दुई प्रमुख सर्त राखेका थिए, पहिलो, सक्रिय भूमिका सुनिश्चित गर्ने र दोस्रो, संसदीय व्यवस्थाको परिमार्जन । पहिलो सर्त पूरा भइसकेको छ भने, दोस्रो सर्तको विषयमा विस्तृत छलफलको आवश्यकता रहेको नेताहरुको भनाई छ । शासकीय स्वरूपबारे थप परामर्श गर्दै जाने सहमति भएको छ ।

उनले नेपालसँगको छलफलमा भनेका थिए, ‘सानातिना विषयले जनताको ध्यान खिच्दैन । हामीले ठूला विषय उठान गरेर आन्दोलनलाई नयाँ दिशा दिनुपर्छ। संसदीय व्यवस्था असफल भएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र समानुपातिक प्रणालीमा जानुपर्छ ।’

एकीकृत समाजवादी गठनपछि गौतमले एमालेबाट राजीनामा दिएर पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका थिए । प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विषयहरूमा थप छलफल गरिनेछ । एकता प्रक्रियाले संगठनलाई सुदृढ बनाउन ठूलो योगदान दिनेछ ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।