Shivam

अमेरिकामा भीषण हिउँदे आँधी, कैयौँ स्थानमा संकटकाल

0
Burger

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ ।क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको क्यान्ससदेखि ईस्ट कोस्टसम्मका ३० राज्यमा मौसमसम्बन्धी चेतावनी जारी गरिएको न्याश्नल वेदर सर्भिस (एनडब्ल्यूएस)ले जनाएको छ । ओहायोदेखि वाशिङ्टन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अपेक्षा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, क्यान्सस, आर्कन्सा, मिजोरी राज्यहरू अनि न्यूजर्सीका कतिपय ठाउँमा संकटकाल घोषणा गरिएको छ ।

साधरणतया मौसम राम्रो हुने फ्लोरिडामा पनि अत्यधिक चिसो महसुस हुने आकलन गरिएको छ । मौसमविद्हरूले उक्त चरम मौसमी अवस्था ‘पोलर भोर्टेक्स’का कारण उत्पन्न भएको बताएका छन् । आर्क्टिकमा फैलिने चिसो हावा भएको एउटा क्षेत्रलाई ‘पोलर भोर्टेक्स’ भनिन्छ । यसपालिको हिउँदे आँधीले ईस्ट कोस्टलाई स्थानीय समयानुसार आइतवार साँझदेखि प्रभावित गर्ने ठानिएको छ। न्यूयोर्क राज्यका कतिपय उत्तरी भागहरूमा अहिलेसम्म कम्तीमा तीन फिट हिउँ परिसकेको छ ।वाशिङ्टन डीसीमा पाँचदेखि नौ इन्च हिमपात हुने भनिएको छ । त्यहाँका नगरप्रमुखले हिमपातका कारण कम्तीमा आइतवार साँझसम्म लागु हुने गरी संकटकालको घोषणा गरेका छन् । तीन महिनाअघि भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्पको विजय प्रमाणित गर्नका लागि सोमवार अपराह्ण कङ्ग्रेसको बैठक बस्न लागेको छ । खराब मौसमका कारण कतिपय संसद सदस्यहरू आआफ्ना क्षेत्रबाट समयमा राजधानी पुग्न सक्छन् कि सक्दैनन् भन्ने स्पष्ट छैन ।

मेरिल्यान्ड राज्यको बाल्टिमोरनजिकै रहेको एनपोलिस क्षेत्रमा आठदेखि १२ इन्चसम्म हिमपात हुने भविष्यवाणी एनडब्ल्यूएसले गरेको छ । त्यसबाहेक क्यान्सस, मिजोरी र नेब्रास्कामा पनि हिमपात हुने चेतावनी जारी भएको छ। उत्तरी मिजोरीमा झन्डै १४ इन्च असिना र हिउँ परेको छ भने क्यान्ससमा १० इन्च हिउँ जमिसकेको जनाइएको छ । ‘यो क्षेत्रमा धेरै हिउँ परेका स्थानहरूमा कम्तीमा एक दशकयता भीषण हिमपात भएको हुन सक्छ,’ एनडब्ल्यूएसले भनेको छ । बीबीसी

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।