Shivam

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

0
Burger

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

भारत सरकारको दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे दुईवटा कक्षाकोठा र आठकोठे छात्रा छात्रावास भवन निर्माण भएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । तत्कालीन जिल्ला विकास समितिमार्फत भवन निर्माण भएको थियो ।

कार्यक्रममा राजदूतावासका कन्सुलर सिंहले भारत सरकारको सहयोगमा गण्डकी प्रदेशमा ७९ वटासहित देशभर पाँच सय ८३ वटा परियोजना सञ्चालन भएका जानकारी दिए ।

नेपालको विकासको प्रमुख साझेदार राष्ट्र भारतबाट शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित परियोजनालाई प्राथमिकता दिएर परियोजना सञ्चालन भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी क्याम्पसलाई पूर्वाधारसँगै प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।

उनीहरूले भारतको अयोध्यामा राममन्दिर निर्माणका लागि मूर्ति बनाउन दुई वर्षअघि लगिएका शिलाको उत्खनन स्थल कालीगण्डकी नदी किनारलाई देभशिला स्मारक स्तम्भ र स्नान स्थलका रूपमा विकास गर्न लागिएको जानकारी गराउँदै त्यसका लागि भारत सरकारसँग सहयोगको अपेक्षा गरे ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले आठ सय ९७ जना विद्यार्थी अध्ययनरत क्याम्पसमा निर्माण भएको भवनले पठनपाठनमा सहज भएको बताए ।

समुदाय स्तरबाट वि.सं २०४८ मा स्थापना भएको म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नाकोत्तर तहसम्मको अध्ययन हुन्छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।