कांग्रेस-एमालेको सत्ता तलमाथि हुँदैन : लेखराज भट्ट
काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान संशोधनसम्बन्धी पछिल्लो अभिव्यक्तिले गठबन्धनमा खटपट हुने चर्चा चलिरहेका बेला सचिव भट्टले उक्त विषयले गठबन्धनलाई कुनै असर नगर्ने स्पष्ट पारेका हुन् ।
सचिव भट्टले प्रधानमन्त्री ओलीले संविधान संशोधनको सम्भावनाबारे राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नपुग्दाको सन्दर्भमा मात्रै आफ्नो भनाइ राखेको बताए । ‘पार्टीको केन्द्रीय समितिमा संविधान संशोधनसहितका एजेन्डामा छलफल भइरहेको छ,’ उनले भने, ‘अध्यक्ष कमरेडले २०८७ मा संविधान संशोधन सम्भव हुने उल्लेख गर्नुभएको छ र त्यसका लागि तयारी गर्न आवश्यक रहेको बताउनुभएको छ ।’
उनले पार्टीका आन्तरिक छलफल र बहसले कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिमा कुनै असर नगर्ने दाबी गरे । ‘पार्टीभित्रका छलफलका विभिन्न कोणले गठबन्धनको स्थायित्वमा असर गर्दैन,’ उनले भने । पार्टीका आन्तरिक चुनौतीहरूबारे टिप्पणी गर्दै, सचिव भट्टले दक्षिणपन्थी अवसरवाद र अराजकताविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । पार्टी अध्यक्षले प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि एकता कायम राख्नुपर्ने सन्देशलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।