रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

![]()
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु भएको छ
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।
सभापति लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भएको छ । उक्त प्रकरणमा बयान दिन सभापति लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए ।
लामिछानेको बयान हिजै सकिएको थियो । लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा परिवारको जिम्मामा छाडेको थियो ।
आदेश अनुसार सभापति लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित भइसकेका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ
अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।
पहिलो चरणमा लामिछाने र जोशीबाहेकका २८ जनाविरुद्ध वैशाख २ मा मुद्दा दर्ता गरिएको थियो । दोस्रो चरणमा थप तथ्य र प्रमाण जुटाउँदै उनीहरूमाथि कसुर र बिगो थप गरिएको छ ।
यसअघि पनि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
