कांग्रेस-एमाले सहकार्यले विकासलाई गति मिल्यो


काठमाडौं । वर्तमान सरकारलाई नेपाली कांग्रेसबाट पूर्ण सहयोग मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई कांग्रेसबाट पूर्ण सहयोग मिलेको खुलाएका हुन् ।
उनले सरकारका आगामी योजनाहरू र सहकार्यका प्रयासबारे चर्चा गर्दै भने, ‘कांग्रेसबाट अहिले पूर्ण सहयोग प्राप्त भएको छ । कुनै किसिमको संकोच या अविश्वास छैन । १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ, म उहाँलाई पूरै साथ दिन तयार छु । यो सरकारको सफलताका लागि कांग्रेस-एमाले मिलेर काम गर्ने हाम्रो साझा अठोट हो ।’
प्रधानमन्त्रीले राष्ट्रिय संकटका बेला प्रतिस्पर्धी दलहरू मिलेर सरकार गठन गर्नुको औचित्य प्रस्ट्याउँदै यो सहकार्य मुलुकलाई स्थायित्व दिन र लोकतन्त्रलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय सरकार ढल्ने हल्ला व्यर्थ रहेको बताए । ‘देश बनाउने कुरा कुनै मजाक होइन । अप्ठ्यारो परिस्थितिमा कांग्रेस र एमालेले मिलेर यो देशलाई स्थायित्व र विकासको बाटोमा लैजाने संकल्प गरेका छौं,’ उनले भने ।
उनले २०४६ सालपछिको बहुदलीय व्यवस्थामा पनि देशको विकास अपेक्षित गतिमा अघि नबढेको भन्दै अब प्रमुख दलहरूको सहकार्यमा सबै पालिकामा विकास कार्य सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्र नेतृत्वको अघिल्लो सरकारले देशको आर्थिक ढुकुटी खाली गरेको आरोप लगाए । ‘अस्ति तीन वर्षको सरकारले देशलाई रसातलमा पुर्यायो । ढुकुटी खाली गर्यो,’ उनले भने, ‘अहिलेको सरकार भने देशलाई स्थायित्व र स्थिरतामा लैजाने संकल्पका साथ बनेको हो । यो सरकार २०८४ को निर्वाचनसम्म टिक्नेछ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको टिप्पणीलाई सम्बोधन गर्दै अघिल्लो दशकको परिस्थिति अब दोहोरिन नसक्ने उनले बताए । ‘०६४ सालको निर्वाचनमा आतंक र त्रासको वातावरण थियो । प्रशासन र सरकार निरीह थियो । तर अब त्यो जमाना गयो । अब विकास र लोकतन्त्रका लागि स्वच्छ प्रतिस्पर्धाको युग सुरु भएको छ,’ प्रधानमन्त्रीले भने ।
उनले प्रमुख दलहरूको सहकार्यले मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताउँदै कुनै पनि बाह्य वा आन्तरिक अवरोधले विकास कार्य रोकिन नसक्ने बताए । वर्तमान सरकारको प्राथमिकता विकास, सुशासन र स्थायित्व भएको बताउँदै सहकार्यका माध्यमबाट यी लक्ष्यहरू हासिल गरिने प्रधानमन्त्री ओलीको दाबी छ ।
