ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर


म्कवानपुर । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ७ः५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थनाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट अटोमा सवार मनहरी गाउँपालिका–६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति ९ः२० बजे मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । अटोमा पूजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए । दुर्घटनामा उनी पनि घाइते छन् । उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक, अटोसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका– २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
