Shivam

बालेनको चुनौती- सुशासनका लागि जोसँग जुध्न पनि तयार छु

0
Burger

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारलाई प्रशासकीय अधिकृत नपठाएको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएका छन् । उनले सरकारकै गैरजिम्मेवार व्यवहारका कारण महानगरपालिकामा देखिएको समस्याका लागि सरकारलाई नै दोषी ठहर गरेका छन् ।

मेयर शाहले सरकारको असहयोग र भ्रमपूर्ण प्रचारविरुद्ध आफू झुक्न तयार नभएको स्पष्ट पार्दै भ्रष्टाचारविरुद्ध दृढ अडान लिने प्रतिबद्धता जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको नीति र निर्णयप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘महानगरलाई नाकाबन्दी लगाएर पनि हाम्रो नियतमा परिवर्तन आउँदैन । अहिले देशलाई सबैभन्दा बढी सुशासनको आवश्यकता छ । भ्रष्टाचारविरुद्धको लडाइँ छेड्न जोसुकैसँग जुध्न तयार छु, तर सम्झौता गर्दिन ।’

प्रधानमन्त्री केपी ओलीलाई पूर्वाग्रह त्यागेर विकासमा सहकार्य गर्न आह्वान गर्दै शाहले सरकारकै गलत प्रचारका कारण आमनागरिकमा भ्रम फैलिएको दाबी गरेका छन् । उनले भ्यु टावरको नक्सा पास, प्रशासकीय अधिकृतको स्थायित्व, निमित्त तोक्ने अधिकार, छानबिन रिपोर्ट लुकाइएको जस्ता विषयमा सरकारको भूमिका अस्पष्ट रहेको बताएका छन् ।

शाहले कानुनी व्यवस्था अनुसार भ्यु टावरको नक्सा पास गर्ने अधिकार मेयरसँग नरहेको र यो निर्णय तत्कालीन प्रशासकीय अधिकृत सरोज गुरागाईंको भएको स्पष्ट पारेका छन् । उनले गुरागाईंले कानुन मिचेर नक्सा पास गरेकाले उनलाई जिम्मेवारीबाट हटाइएको र छानबिन अघि बढाइएको जानकारी गराएका छन् । तर, यसैलाई लिएर आफूलाई दोष लगाइनु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

प्रशासकीय अधिकृत जान नचाहेको भन्दै सरकारबाटै भ्रम फैलाइएको आरोप लगाउँदै मेयर शाहले यस घटनालाई लज्जास्पद, लाचार र गैरजिम्मेवार कार्यको संज्ञा दिएका छन् । उनले सरकारको प्रशासनिक क्षमतामाथि प्रश्न उठाउँदै भने, ‘राजधानीको महानगरमै कर्मचारी पठाउन नसक्ने सरकारले दंगाग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाउन सक्ला? अपराध नियन्त्रण गर्न पुलिस पठाउन सक्ला ? सरकार आफ्नै कर्मचारीलाई नियन्त्रण गर्न असफल छ भने समृद्धिको आशा हामीले कसरी गर्ने ?’

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।