Shivam

काठमाडौंमा राजावादीहरुको शक्ति प्रदर्शन तयारी, सुरक्षाकर्मी ‘हाई अलर्ट’मा

0
Burger

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनलाई अवसर बनाएर राजधानीमा राजावादी शक्तिहरूले प्रदर्शन गर्ने तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न राजावादी संगठनहरूले विमानस्थलमा भव्य स्वागत कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन्।

पोखराबाट फर्केपछि पूर्वराजालाई जुलुससहित चक्रपथ हुँदै महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याउने तयारी गरिएको छ। शाह पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न धार्मिक स्थलको भ्रमणपछि आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

यस घटनालाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी स्रोतका अनुसार करिब ६ हजार समर्थकहरू उक्त स्वागत कार्यक्रममा सहभागी हुने सम्भावना रहेको छ। जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन ‘हाई अलर्ट’ जारी गरिएको छ। उनले शान्तिपूर्ण प्रदर्शनमा अवरोध नगर्ने भए पनि कुनै किसिमको अशान्ति फैलाउने कार्यलाई नियन्त्रण गरिने स्पष्ट पारे।

बिहानैदेखि राजधानीका मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालित भएका छन्। बर्दीधारी तथा सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरू संवेदनशील क्षेत्रहरूमा तैनाथ गरिएको प्रहरीले जनाएको छ। एकीकृत सुरक्षा रणनीति अनुसार नेपाल प्रहरी, अपराध अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी बल, तथा राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षा टोली परिचालन गरिएको छ।

यसैबीच, पूर्वराजाले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्र संकटमा परेको भन्दै नागरिकहरूलाई साथ दिन आग्रह गरेका थिए। उनको सन्देशपछि राजावादीहरूमा उत्साह देखिएको छ भने प्रमुख राजनीतिक दलहरू सचेत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजालाई राजनीतिमा आउनु छ भने दल खोल्न सुझाव दिएका छन्।

राजावादीहरूको गतिविधि सघन हुँदै गएपछि माओवादी केन्द्रले तराई मधेशमा सञ्चालन गरिरहेको ‘हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान’ स्थगित गरेको छ। यस घटनाले नेपाली राजनीतिक परिदृश्यमा नयाँ बहस सिर्जना गरेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।