Shivam

स्थानीय कर्मचारी संघको बालेनलाई पत्र : सात दिन भित्र तलब दिन अल्टिमेटम

0
Burger

काठमाडौँ । स्थानीय तह कर्मचारी संघले प्रशासनिक समस्याको सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

विगत तीन महिना देखि प्रशासनिक नेतृत्व विहीन हुँदा समग्र काठमाडौं महानगरपालिकाको प्रशासनिक यन्त्र अस्त व्यस्त वनेको संघले जनाएको छ ।

विगत तीन महिनादेखि पारिश्रमिक नपाउँदा झन्डै ४,००० पेसाकर्मीहरूको दैनिकी चल्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लामो समयसम्म तलब प्राप्त गर्न नसक्दा कर्मचारीहरूको कार्य मनोबल चरम खस्किएको बताइएको छ

संघले महानगरका नेतृत्वले सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरि थप समस्याको सृजना गर्न उद्धत भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘विकास निर्माण लगायतका कार्यहरू ठप्प बनेको छ । यस्तो अवस्था हुँदा समेत सिंगो महानगर नेतृत्व जिम्मेवार एवं गम्भीर भई समस्याको समाधानका लागि सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरि थप समस्याको सृजना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ–आफ्‌नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

संघले काठमाडौं महानगरपालिकाको हकमा विधि र प्रक्रियाबाट भई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र सञ्चालन गर्न खोज्दा हाल यो समस्या पैदा भएको ठहर गरेको छ ।

संघले अनधिकृत व्यक्तिहरूबाट कर्मचारीहरूलाई त्रास एवं भयको वातावरण सृजना गरि कानुन सम्मत ढंगले कार्य गर्न पाउने अधिकारलाई कुण्ठित गराई जवर्जस्त आदेश लाद्‌ने पद्धतिले काठमाडौँ महानगरपालिकामा दिनानुदिन झनै जरा गाड्दै गएको बताएको छ ।

संघले विधिको शासनको मूल्य र मान्यतालाई शिरोपर गर्दै भय रहित वातावरणमा कर्मचारीहरूलाई काम गर्ने अवस्थाको सृजना गर्न महानगर नेतृत्वसँग माग गरेको छ । साथै प्रशासनिक नेतृत्वलाई कार्यालयमा उपस्थित भई कामकाज गर्ने अविलम्ब उचित वातावरण बनाउन आग्रह गरेको छ ।

संघले महानगरपालिकाका कर्मचारीहरूको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन यस पूर्वपनि ध्यानाकर्षण गराएको भन्दै हालसम्म उक्त समस्याको समाधान गर्नतर्फ अग्रसर नदेखिएको संघका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

उनले महानगरको समस्या र संघको मागलाई बेवास्ता गरि उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउने तर्फ उद्धत भई आम कर्मचारीको समस्या एक हप्ता भित्र समाधान नगरेमा सम्पूर्ण पेशाककर्मीहरु एकत्रित भई कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलन गर्ने बताए । उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार पक्ष काठमाडौँ महानगरपालिकाको नेतृत्व स्वयं हुने बताए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।