Shivam

महिला टी-२० विश्वकप छनोट: बहराइनलाई ९ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो नेपाल

0
Burger

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै बहराइनलाई ९ विकेटको शानदार जित दिएको छ । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेल वर्षाका कारण ५-५ ओभरमा सीमित गरिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेटको क्षतिमा ४१ रनको चुनौती पेश गरेको थियो । जवाफमा नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रन बनाउँदै उत्कृष्ट सुरुवात दिलाइन् । अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन् भने कप्तान इन्दु वर्मा ५ बलमा ७ रन बनाउँदै नटआउट रहिन् । कविता भने रनआउटको शिकार बनेकी थिइन् ।

त्यसअघि, बहराइनका लागि दिपिका रसंगिकाले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ६ चौका र १ छक्कासहित अविजित ३४ रन बनाइन् । थरान्गा गजनायाकेले ३ तथा जेनाब फाजिलले २ रनको योगदान दिइन् । नेपालका लागि एक मात्र विकेट पुजा महतोले लिइन् । अन्तिम ओभरमा दिपिकाले सबनम राईको बलमा १ छक्का र ३ चौका प्रहार गर्दै बहराइनलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याएकी थिइन् ।

नेपालको पहिलो खेल हङकङविरुद्ध वर्षाका कारण रद्द भएको थियो । अहिले नेपालको ३ अंक पुगेको छ भने हङकङको १ अंक छ । अब नेपालले मंगलबार हङकङ र बिहीबार फेरि बहराइनविरुद्ध खेल्ने तालिका रहेको छ ।

समूह चरणमा दुई टोलीबीच दुई-दुई खेल हुने प्रावधान छ । समूह विजेता टोलीहरू ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन् । सुपर थ्रीमा शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।