तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ सम्पन्न, अधिकार र समावेशिताको सशक्त बहस


तिलोत्तमा । दलित समुदायको अधिकार, न्याय र समावेशितालाई स्थापित गर्न आयोजित ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ दुई दिने कार्यक्रमसँगै शनिबार सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा सम्पन्न उत्सव विविध सत्र, छलफल, प्रस्तुति र रचनात्मक कार्यक्रमसहित सम्पन्न भएको हो।
समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले ज्ञान उत्सवको औपचारिक समापन गरेका थिए। मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन जनप्रतिनिधिको भूमिकालाई अपरिहार्य भन्दै लुम्बिनी प्रदेश सरकार दलित अधिकार ऐन ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिए। उनले तिलोत्तमा नगरपालिकाले गरेको यो प्रयास अन्य स्थानीय तहका लागि प्रेरणादायी र अनुकरणीय भएको उल्लेख गरे।
नगर प्रमुख रामकृष्ण खाँणले दोस्रो वर्षसम्म निरन्तर आयोजना गरिएको यो ज्ञान उत्सव तिलोत्तमा नगरपालिकाले अगाडि सारेको “मानवताको सहर” बनाउने अभियानको एउटा महत्वपूर्ण अंग भएको बताए।
बहस र विचार आदान–प्रदानका विविध सत्रहरू
शनिबार सम्पन्न उत्सवमा विभिन्न सत्रहरूमा दलित समुदायको मुद्दालाई केन्द्रमा राखेर विश्लेषण, बहस र छलफल गरिएको थियो।
‘संघीयतामा दलित सवाल र प्रतिनिधित्व’ विषयमा आयोजित सत्रमा पूर्वमन्त्री मीन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। उनीहरूले संघीय व्यवस्थामा दलितको प्रतिनिधित्वमा सुधार भए पनि अझ धेरै सुधारको खाँचो रहेको टिप्पणी गरे। सत्रको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए।
‘प्रशासनिक संयन्त्रमा समावेशिता’ सत्रमा पूर्व सचिव डा. मानबहादुर विक, प्रशासकीय अधिकृत नारायण अर्याल, र इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल वक्ता थिए। सत्रको सञ्चालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन्।
‘स्थानीय सरकारमा दलितमैत्री बजेट’ विषयमा बुटवल उपमहानगरकी उप–प्रमुख सावित्रा अर्याल र अध्येता सुशील विके वक्ता थिए भने पत्रकार टंक सुनारले सत्र सञ्चालन गरे।
‘सामाजिक रूपान्तरणमा युवा’ विषयमा अधिकारकर्मी सञ्जय निगम, सुभाष नेपाली र अध्येता गणेश श्रीपालीले दृष्टिकोण प्रस्तुत गरे।
पहिलो दिनको बहस र उद्घाटन
पहिलो दिन, शुक्रबार, ‘लुम्बिनी प्रदेशमा दलित सशक्तिकरण र राजनीतिक दलको भूमिका’ विषयमा नेपाली कांग्रेस लुम्बिनीका सचेतक जमुना ढकाल, एमालेका सचेतक तुलसी चौधरी, र सामाजिक विकास समितिका संयोजक यमबहादुर गैरे नेपालीबीच गहन छलफल भएको थियो। पत्रकार अमृता अनमोलले सत्र सहजीकरण गरेकी थिइन्।
‘राजनीतिक दल र दलित समावेशीकरण’ विषयमा कांग्रेस सभापति रामकृष्ण खाँण, एमाले अध्यक्ष यज्ञ गैरे, र माओवादी केन्द्रका अध्यक्ष निर्मल जीसीबीच विचार आदान–प्रदान भयो। पत्रकार दिनेश पाण्डेयले सत्र सञ्चालन गरे।
‘दलित र उद्यमशीलता’ विषयमा उद्यमी जितु बौडेल, तारा सुनार र फणिन्द्र घेलेबीच संवाद भयो, जसको सहजीकरण जीवन परियारले गरे।
सांस्कृतिक र सृजनात्मक पक्षको पनि उत्साहजनक सहभागिता
कार्यक्रममा चित्रकला प्रदर्शनी, गीत–संगीत, र विविध सृजनात्मक प्रस्तुतिहरूमार्फत सामाजिक विभेदको विषयमा सन्देशमूलक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।
वन तथा वातावरण समितिका संयोजक सुरेन्द्र श्रीले उत्सवले सामाजिक जागरणमा योगदान दिएको बताए।
कार्यपालिका सदस्य रवि सेन्चुरीले उत्सवले दलितको आत्मसम्मान र अधिकारप्रतिको बहसलाई थप सशक्त बनाएको टिप्पणी गरे।
उत्सवको उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद छविलाल विश्वकर्माले गरेका थिए।
