बुद्धका शिक्षाले जीवनमा उज्यालो छाओस् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औं बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने कामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै गौतम बुद्धलाई अहिंसाको उज्यालो प्रकाश र मानवता तथा करुणाको अमूल्य उपहारका रूपमा स्मरण गरेका छन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार- यिनै हुन् गौतम बुद्ध,’ उनले लेखेका छन् ।
उनले बुद्ध जयन्तीले बुद्धको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने महत्त्वपूर्ण अवसर रहेको उल्लेख गर्दै, बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
