Shivam

बुद्धको दर्शनले आज पनि समावेशी र न्यायपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : प्रचण्ड

0
Burger

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान् गौतम बुद्धको व्यवहारमै आधारित शिक्षाले आज पनि समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरणा दिइरहेको बताएका छन् ।

गौतम बुद्धको २५६९औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले बुद्धको दर्शनले ‘क्रान्ति र शान्ति’ परस्पर विरोधी नभई समाज रूपान्तरणका परिपूरक तत्व रहेको गहन सन्देश दिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र होइन, यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो ।’

शुभकामना सन्देशमा उनले गौतम बुद्धले करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा तत्कालीन समाजमा व्याप्त जातीय, लैंगिक विभेद र अन्धविश्वासविरुद्ध विचार–क्रान्तिको सूत्रपात गरेको उल्लेख गरेका छन् । ‘बुद्धको यही विचार आजको दिनमा पनि गहिरो प्रेरणाको स्रोत बनेको छ,’ उनको भनाइ छ ।

साँस्कृतिक विविधता र पहिचानको सम्मानलाई राष्ट्र निर्माणको आधार मान्दै प्रचण्डले सन्देशमा लेखेका छन्, ‘विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्रिय एकता कायम गर्न सांस्कृतिक विविधतासहितको पहिचानको संरक्षण अनिवार्य छ ।’

इतिहासले अघि बढेको बाटोबाट पश्चगमन होइन, प्राप्त उपलब्धिको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमन आवश्यक भएको भन्दै उनले सबैलाई समावेशी संघीय गणतन्त्र नेपालको निर्माणमार्फत समाजवादी क्रान्तिको आधार तयार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।