बुद्धको शिक्षामा आधारित जीवनशैली नै विश्व शान्तिको मूल आधार : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले बुद्धमार्गको अनुसरण गर्न सक्नु नै आन्तरिक तथा बाह्य द्वन्द्वबाट ग्रस्त विश्वमा स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन्। २५६९औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बुद्धका उपदेशहरूलाई आत्मसात् गर्दै समता, करुणा र मेलमिलापको बाटो समाउन सबैलाई आह्वान गरेका हुन्।
सभामुख घिमिरेले बौद्ध धर्मको मूल उद्गम थलो नेपाल हुनु सम्पूर्ण नेपालीहरूको लागि गर्वको विषय भएको उल्लेख गर्दै, “बुद्ध जयन्तीले हामीलाई हरेक वर्ष शान्ति, सहिष्णुता र सद्भावतर्फ उन्मुख गराउने प्रेरणा दिन्छ,” भनेका छन्।
उनका अनुसार नेपालमा बौद्ध धर्म केवल धार्मिक आस्था मात्र नभई, यसले नेपाली सभ्यता, संस्कार र परम्परासँग गहिरो सम्बन्ध राख्दछ। “नेपाललाई शान्तिको भूमि भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो,” उनले भने।
सभामुख घिमिरेले पञ्चशीलका सिद्धान्तहरूले व्यक्ति, समाज र राष्ट्रलाई नैतिक र शुद्ध आचरणतर्फ उन्मुख गराउने मार्ग देखाउने धारणा राखे। साथै, बुद्धका उपदेशहरू मानवता, सहिष्णुता र सहअस्तित्वमा आधारित भएकाले तिनीहरूलाई जीवनशैलीमा अपनाउनु आजको आवश्यकता भएको उल्लेख गरे।
“शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मजयन्तीले विश्व समुदायमा संयमता, आपसी सम्मान र सुदृढ सहकार्यको भावना फैलाओस्,” भन्ने कामना व्यक्त गर्दै सभामुख घिमिरेले सम्पूर्ण नेपाली तथा बौद्ध धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

