“सौराहा घुम्न आउनुस्” :- चितवनका व्यवसायीको आग्रह, अन्तरप्रदेशीय समन्वयमार्फत पर्यटन प्रवर्द्धनमा जोड

भैरहवा । “घुमौं सौराहा, चितवन अभियान २०२५” अन्तर्गत चितवनका पर्यटन व्यवसायीहरूले लुम्बिनीबासीलाई सौराहा भ्रमणको निम्तो दिएका छन्। भैरहवामा आयोजित अन्तरक्रियामा चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरूबीच पर्यटन प्रवर्द्धनका विविध पक्षमा छलफल भयो।
क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चितवनका व्यवसायीहरूले सौराहाको पर्यटकीय सम्भावना प्रस्तुत गर्दै आपसी समन्वय र सहकार्यमार्फत पर्यटन क्षेत्रको विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तरप्रदेशीय सहकार्य पर्यटन क्षेत्रको दिगो विकासका लागि अपरिहार्य भएको उल्लेख गरे। “चितवन र लुम्बिनीबीच पर्यटकको आदानप्रदानका लागि सहज पूर्वाधार र कार्यक्रम आवश्यक छन्,” उनले भने, “पर्यटकलाई एउटै यात्रामा चितवन, लुम्बिनी, पोखरा जस्ता गन्तव्य घुम्न सक्ने वातावरण निर्माण गर्न सकिन्छ।”
मुख्यमन्त्री आचार्यले सिद्धार्थनगर क्षेत्रलाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेका लगानीको कदर गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुँदा व्यवसायी मर्कामा परेको बताए। “प्रदेश सरकार व्यवसायीको मनोबल उच्च बनाउने वातावरण तयार पार्न प्रतिबद्ध छ,” उनले भने।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईं, रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य, र विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरूले पर्यटन पूर्वाधार, पहुँच मार्गको सुधार, तथा प्रचार-प्रसारमा साझा प्रयास आवश्यक रहेको धारणा राखे।
क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले सौराहालाई चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारका रूपमा प्रस्तुत गर्दै यसले विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गर्दै आएको बताए। उनले चितवन देशको मध्यभागमा पर्नुका कारण पनि पर्यटन विस्तारका लागि उपयुक्त सम्भावना रहेको बताए।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अभियानले आन्तरिक पर्यटन पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
सौराहाको प्राकृतिक सौन्दर्य, हात्ती सफारी, राप्ती नदीको किनार, र चितवन राष्ट्रिय निकुञ्जसँगको सम्बन्ध यस गन्तव्यलाई नेपालकै प्रमुख पर्यटकीय थलोमध्ये एक बनाएको छ। महामारीपछिको समयलाई ध्यानमा राख्दै चितवनका व्यवसायीहरूले आन्तरिक पर्यटकलाई आकर्षित गर्न नयाँ प्रयास थालेका छन्।
वर्षेनी झण्डै ४ लाख पर्यटक भित्रिने सौराहालाई अझ व्यवस्थित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने दीर्घकालीन योजनामा व्यवसायी र स्थानीय निकाय लागिपरेका छन्।

