बुटवल जिल्लामै पहिलो पूर्ण खोप र संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा

बुटवल –बुटवल उपमहानगरपालिका रुपन्देही जिल्लाको पहिलो “पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका” घोषित भएको छ। मंगलबार आयोजित विशेष समारोहमा यो उपलब्धि सार्वजनिक रूपमा घोषणा गरिएको हो।
स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधार गर्दै सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थाहरूमा सुरक्षित प्रसूति सेवा निरन्तरताका आधारमा यो मान्यता प्राप्त भएको हो। नगर प्रमुख खेलराज पाण्डेयले कार्यक्रमलाई सम्बोधन गर्दै बुटवलले विगत वर्षमै घोषणा गर्ने तयारी गरे पनि केही कारणवश एक वर्ष ढिलो गरी घोषणा गरिएको र ढिलाइ हुँदाहुँदै पनि जिल्लामै पहिलो बन्नु गौरवको विषय भएको बताए।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईंले २०८१/८२ भित्र विभिन्न सूचकहरू पुरा गर्दै बुटवलले यो उपाधि प्राप्त गरेको उल्लेख गर्दै अन्य पालिकाहरूलाई पनि सफलताको शुभकामना दिए। उनले रुपन्देही जिल्लामा अझै पोषणको कमी र मातृ मृत्युदर उच्च देखिएकोले यस्ता सूचक सुधार गर्न सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवाली, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद पराजुली, र उपमहानगरको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेय लगायतले घोषणा प्राप्त गर्न पालिकाले पुरा गरेका मापदण्ड तथा प्रक्रियाहरूको जानकारी गराए।
नगर प्रमुख पाण्डेयले अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरूप सुत्केरीलाई दुई हजार रुपैयाँ पोषण भत्ता दिइने उल्लेख गर्दै, बालबालिकालाई विद्यालय पठाउन अभिभावकहरूलाई आग्रह गर्दै शिक्षा, स्वच्छता र हरियालीमा बुटवल अगाडि रहेको बताए।
स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका, र विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहयोगले बुटवलले यो उपलब्धि हासिल गरेको जनाइएको छ। उपमहानगरपालिकाले नियमित सरसफाइ अभियान, टोलटोलमा विद्यालय बाहिर रहेका बालबालिकाको खोजी, र नसर्ने रोग रोकथाममा समेत सक्रियता देखाएको छ।

