माधव, प्रचण्डप्रति ओलीको कटाक्ष : तीन वर्षअघि जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजित गर्ने मनसायले पार्टी भित्रकै नेताहरू सक्रिय भएपछि पार्टी जोगाउनका लागि कदम कडा कदम चालेको बताएका छन् ।
शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले पार्टी एकीकरणबाट नेकपा बनाएपछि पार्टीभित्रकै नेताहरू पार्टीलाई विभाजित गर्न लागेको उनले आरोप लगाएका हुन् ।
उनले ७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत पार्टी बनाएको तर केही स्वार्थ बोकेकाहरूबाट बचाउन नसकेको बताए । उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम गरेको बताए ।
दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने तर संसदमा अरु तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने काम गरेको टिप्पणी गरे ।
एकीकरणका मनसायले एकीकरण गरे पनि एकीकरण गर्न आउनेहरूको मनसाय एमालेलाई ध्वस्त पार्नु रहेको बताए । उनले तीन वर्षअघि जहाँबाट निकालिएको हो अहिले आफू त्यही स्थानमा रहेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘०७४—०७५ मा पुग्दा हामीले पार्टीलाई एउटा सर्वाधिक मजबुत मात्रै होइन, लगभग दुई तिहाइको बनायौँ । थोरै सिट मात्रै हामीकहाँ पुगेको थिएन दुई तिहाइ हुन । त्यस ठाउँमा हामीले कम्युनिष्ट आन्दोलनलाई पुर्यायौँ । वामपन्थी आन्दोलनलाई पुर्यायौँ । तर केही स्वार्थ बोकेका, आत्मकेन्द्रित तत्त्वहरू छट्पटाए । अन्य शक्तिहरु बाह्य शक्तिहरु पनि छट्पटाए । उनीहरुले यिनलाई उचाल्न थाले । र पार्टीभित्रका केही तत्त्वहरू पनि सक्रिय भएर त्यस अभियानमा सक्रिय भए । हामी विकासको लागि अगाडि बढ्न थाल्यौँ ।
तर नेतृत्वमै रहेका थुप्रै व्यक्तिहरू त्यसलाई ध्वस्त पार्न अर्कोतिर संगठित हुने र अरूकै निम्ति काम गरेर पार्टीभित्र अन्तरविद्रोह पैदा गर्ने काम भयो । अन्तिममा कहिले अदालत गुहारेर, कहिले के गरेर, पार्टी भित्रका समस्या पार्टीभित्र होइन बाहिर चल्ने । दलको नेताकाबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने, नल्याउने, अनि गएर संसदमा अरु विभिन्न प्रकारका तत्त्वहरूसँग मिलेर अविश्वासको प्रस्ताव राख्न खोज्ने र पार्टी ध्वस्त पार्ने, सिध्याउन खोज्ने भएपछि हामीले कार्यनीतिक रुपमा केही कडा कदम चाल्नुपर्यो । वास्तवमै पार्टी उनीहरुले हामीले एकीकरणका मनसायले एकीकरण गयौँ । उनीहरुले गलत ढंगले कब्जा गर्ने, क्षति विक्षत गर्ने, विभाजित बनाउने, कुत्सित मनसायले निर्णायक प्रहार गरेर ध्वस्त पार्न लागेपछि हामीले पार्टी जोगाउनका लागि विशेष कदमहरू चाल्नुपर्यो । आज हैसियतका साथ छौँ । तीन वर्षअघि जहाँबाट लखेटिएको थियो, तीन वर्षपछि हामी फेरि त्यही सरकारको नेतृत्वमा छौँ । सहज परिस्थिति थिएन ।’
प्रधानमन्त्री ओलीले आज हैसियतका साथ आफूहरू सरकारमा रहेको बताए ।
