अधिवेशन कब्जाको प्रयासमा खुकुरी प्रहार भएको शेखर पक्षको आरोप


काठमाडौं । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवाद हिंसात्मक बन्न पुगेपछि खुकुरीसहितको आक्रमणमा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहर-९ का वडाध्यक्ष एवं तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन् । दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पताल बेसीसहरमा गरिएको र थप उपचारका लागि चितवन रिफर गरिएको छ । अन्य घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार हालसम्म कोही पनि पक्राउ परेका छैनन् । घाइतेहरूका तर्फबाट किटानी जाहेरी लिने प्रक्रिया चलिरहेको छ । लमजुङ प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद चुलिएको थियो । तरुण दलको विधानअनुसार प्रत्येक वडाबाट चार प्रतिनिधि, समावेशी प्रतिनिधि, र वडामा ३५ जनाभन्दा बढी साधारण सदस्य भए, उनीहरूबाट एक जना जिल्ला प्रतिनिधि छनोट गरिनुपर्ने प्रावधान छ । तर, अधिवेशनमा धेरै वडाबाट प्रतिनिधि नै नछनोट गरिएको भन्दै असन्तुष्टि देखिएको थियो ।
