बुटवलमा प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु


बुटवल । बुटवलमा आजदेखि प्रथम नगर प्रमुख विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। बुटवल उपमहनगपालिका वडा नं. १६ डहरगाउँमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगितको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदले शारीरिक र मानसिक विकाससँगै अनुशासन, समर्पण र टीम स्पिरिटको भावना विकास गर्ने बताउनु भयो ।उहाँले बुटवललाई खेलकुदमैत्री शहर बनाउने दीर्घकालीन लक्ष्य रहेको र विद्यालयस्तरीय प्रतियोगिताले त्यस दिशातर्फ महत्वपूर्ण कदम चालिएको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका ,नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताले विद्यालय तहबाट खेलकुदको विकास गर्दै बुटवललाई खेलकुदको माध्यमबाट अगाडि बढाउने उद्देश्यले राखिएको छ । प्रतियोगितामा बुटवलका विभिन्न १७ वटा विद्यालयका टिमहरू सहभागिता जनाएको नगर खेलकुद बिकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा नगर उपप्रमुख सावित्रादेवी अर्याल, नगर प्रवक्ता शिव रानाले बोल्दै बुटवल क्षेत्रलाई खेलकुदमैत्री नगरको रूपमा स्थापित गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने बताउनु भयो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु , जनप्रतिनिधी लगाएत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
जेठ ४ गते देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको नगर खेलकुद विकास समितिले जनाएको छ ।प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमले भाग प्रतिस्प्रर्धा गर्दैछन् ।
खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू बुटवलमा निरन्तर रूपमा आयोजना गर्दै खेलको विकासमा बुटवल उपमहानगरपालिकाले जोड दिँदै आएको छ। विद्यालय स्तरबाट यस्ता गतिविधिहरू अघि बढाउँदा विद्यार्थीहरूमा खेलप्रतिको रुचि र अनुशासनको विकास हुने विश्वास उपमहानगरको छ ।




