विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणमा तीन पक्ष बोलाएर स्पष्ट पार्न सांसद सापकोटाको माग


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको नाफा–घाटा सम्बन्धी विषयमा स्पष्टता ल्याउन तीन वटै सरोकारवाला पक्षलाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका छन् ।
बुधवार बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सापकोटाले कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा गरिएको अडिट र हालको अडिटबीच असंगति देखिएको भन्दै सो विषयमा छानबिन आवश्यक रहेको बताए ।
उनले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, पूर्व निर्देशक कुलमान घिसिङ र महालेखा परीक्षकलाई समिति समक्ष उपस्थित गराई छलफल गर्नुपर्ने तर्क गरे ।
“हिजो अडिट गर्ने तरिका अर्कै थियो, अहिले फेरि अर्कै ढंगले गरिएको छ,” उनले भने, “त्यसैले सबै पक्षलाई समिति समक्ष बोलाएर सत्यतथ्य सार्वजनिक गरिनुपर्छ ।”
सापकोटाले विद्युत् प्राधिकरणको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिँदै, दोषी पाइएमा कानुनी कारबाही हुनुपर्ने धारणा राखे ।
“कुलमान दोषी छन् भने कानुन अनुसार कारबाही होस्,” सापकोटाले स्पष्ट पारे, “तर राम्रो कामलाई प्रशंसा, गल्तीलाई आलोचना गरौं, पारदर्शी ढंगले निर्णय गरौं ।”
उनले समिति स्तरबाट यथाशीघ्र छलफल अघि बढाएर निष्कर्षमा पुग्न आग्रह गरे ।
