गृहमन्त्री लेखकको चुनौती: ‘एक मात्र आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’


काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित षड्यन्त्रमूलक प्रचार भइरहेको दाबी गर्दै, यदि कसैले उनको सार्वजनिक वा राजनीतिक जीवनमा एउटामात्र आर्थिक अनियमितता प्रमाणित गर्न सके उनले राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्।
शनिबार साँझ सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनसम्बन्धी भिजिट भिसा प्रकरणमा आफूमाथि भइरहेको आरोप असत्य र प्रपञ्चपूर्ण भएको जिकिर गरे। “यदि कसैले मेरो जीवनमा एउटा मात्र आर्थिक अनियमितता प्रमाणित गर्यो भने म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु,” उनले भने।
गृहमन्त्री लेखकले यही जेठ १३ गते प्रतिनिधिसभा बैठकमा यस विषयमा स्पष्ट र विस्तृत रूपमा जानकारी दिने तयारी गरिरहेका छन्। उनले त्यसका लागि संसद्मा बोल्ने समयसमेत माग गरिसकेको बताए।
उनले मन्त्रालयअन्तर्गत लाखौँ कर्मचारी रहेका कारण कुनै कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने परिपाटी बसाल्न नहुने धारणा व्यक्त गरे। “कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुँदा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ?” भनी प्रश्न गरे।
गृहमन्त्री लेखकले आफ्नो विरुद्ध भइरहेको प्रचारलाई नियोजित, राजनीतिक, र षड्यन्त्रमूलक भन्दै त्यसको तथ्यसहित खण्डन गर्ने तयारीमा रहेको बताए।
